कावासोती,२० माघ, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले खेलकुदको प्रवर्द्धनका लागि सबैको सकारात्मक साथ आवश्यक रहेको बताउनु भएको छ ।
कावासोती नगरपालिका ६ विष्णुनगरमा प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय प्रतिभा कप २०८० टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नु हुँदै नगरप्रमुख भुसालले सो कुरा बताउनु भएको हो । खेलकुदमा गरिने लगानीको प्रतिफल तत्काल नदेखिए पनि युवाहरूको शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा पुर्याउने योगदानको ठुलो महत्त्व रहेको उहाँले बताउनु भयो ।
खेलकुदको विकाशका लागि कावासोती नगरपालिका बाट सबै वडाहरूमा सक्दो बजेट विनियोजन गरिएको बताउनुहुँदै नगर प्रमुख भुसालले विभिन्न प्रतियोगिताहरूले खेल र खेलाडीको प्रतिभा पहिचान गर्न मद्दत पुग्ने बताउनु भयो ।
कावासोती नगरपालिका वडा नम्बर ६ का पूर्व क्रिकेट खेलाडी स्व.गोपाल खरालको स्मृतिमा आयोजना गरिएको प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय प्रतिभा कप २०८० टी-२० क्रिकेट प्रतियोगितामा २० वटा वडाहरूले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर महिला क्रिकेट समूह र चितवन महिला क्रिकेट समूह बिच मैत्रीपूर्ण खेल सञ्चालन गरिएको थियो ।
प्रतियोगिता प्रथम हुने टिमले नगद ५५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् त्यसैगरी द्धितिय हुने टिमले नगर २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सोवित रानाले बताउनु भयो । प्रतियोगिताको आयोजना प्रतिभा युवा क्लब कावासोती ६ विष्णुनगरले गरेको हो ।
प्रतिक्रिया दिनुहोस