बौदीकाली गाउँपालिकाले गाउँपालिकाको कार्यक्रम अनुसार डेढगाउँ माध्यमिक विद्यालय सँगको सहकार्यमा पहिलो पटक ‘मानव पुस्तकालय’को पहिलो शृंखला डेढगाउँ माध्यमिक विद्यालय तथा बालकल्याण आधारभूत विद्यालयका करिब २०० जना विद्यार्थीको उपस्थितिमा सम्पन्न गरेको छ । कार्यक्रम ‘मानवजीवनका भोगाइजन्य अनुभव पनि आफैंमा पुस्तक हो’ भन्ने अवधारणामा आधारित रही अन्तक्रियात्मक रूपमा सम्पन्न भएको थियो ।
बौदीकाली गाउँपालिकाको वार्षिक नीति `महिनाको १ दिन मेरो गाउँको लागि´ योजना अनुसार आयोजना भएको मानव पुस्तकालयको पहिलो शृंखलामा अतिथिका रूपमा २ जना मानव पुस्तकहरूको सहभागिता थियो । बौदीकाली गाउपालिकामा जन्मनु भएका गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयका भु.पु सचिव ईन्जिनियर राम चन्द्र श्रेष्ठ तथा काठमाण्डौ विश्वविद्यालयका उप प्राध्यापक डाक्टर शेष कान्त पंगेनी पहिलो श्रृङखलामा मानव पुस्तकका रूपमा रहनुभएको हो ।
मानव पुस्तकहरूले खुला पुस्तकका रूपमा आफ्नो बाल्यकाल, शिक्षादीक्षा, रुचि, जीवनको लक्ष्य, लक्ष्यप्राप्तिका लागि गरिएको संघर्ष, वर्तमान समयमा अवलम्बन गरिरहेको पेसा, व्यवसाय र सफलताका कथाबारे प्रेरणादायी भनाइहरू अभिव्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरू बाट सोधिएका प्रश्नहरूको उत्तरमा आधारित रही आफ्ना जीवनभोगाइलाई खुला पुस्तकका पानाझैं पल्टाएका अतिथिहरू कुनै एक विधाको खुला पुस्तक बने भने विद्यार्थीहरू त्यसका पाठक भएर ज्ञान आर्जन गरे ।
मानवरूपी पुस्तक र पाठकका बीचमा झन्डै चार घन्टा चलेको कार्यक्रमको बौदीकाली २ डेढगाउको वडा कार्यालय र कृष्ण गण्डकी साकोसमा दुई समुहमा विभाजन गरेर सञ्चालन गरिएको थियो ।
पुस्तकालयमा उपलब्ध हुने पुस्तकका पानामात्रै पल्टाएर भन्दा पनि ज्ञान र अनुभवले भरिएका व्यक्तित्वहरूका पुस्तकका पाना पल्टाएर विद्यार्थीहरूलाई उज्वल भविष्य निर्माणमा सहयोग पुग्ने बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । बौदीकालीमा केही समय अगाडि राज्यका माथिल्लो ओहोदामा पुगेका व्यक्तिहरू हुदा र वर्तमान समयमा निजामती तथा राज्यका माथिल्लो ओहोदामा पुग्ने बौदीकाली मान्छे नहुदा पालिकाले विकास निर्माण तथा अन्य क्षेत्रहरूमा भोग्नुपरेको समस्या समाधानमा आगामि पुस्ताले बेलेैमा केही कदम चाल्छ कि भनेर पनि पालिकाले यस्तो खालको कार्यक्रम ल्याएको पालिका अध्यक्ष ओझा बताउनुभयो ।
‘मानव पुस्तकालय’ कार्यक्रम पुस्तक र पाठकको प्रत्यक्ष कुराकानी भएकाले अस्पष्ट लागेका कुराहरूमा तत्क्षण प्रश्न राखी आफ्नो जिज्ञासा मेटाउन पनि विद्यार्थीहरू सफल भए । पुस्तकालयको पुस्तक निकालेर पढ्दा आफूलाई चित्त नबुझेको वा अस्पष्ट भएको कुरामा तुरुन्त प्रश्न गर्ने अवसर नपाइने तर मानव पुस्तकालयमा त्यो सुविधा रहने भएकाले यो अवधारणा आफूलाई निकै रमाइलो र प्रभावकारी लागेको कार्यक्रममा सहभागि विद्यार्थीहरूले बताए ।
मानव पुस्तकालयसम्बन्धी अवधारणा पहिलोचोटि डेनमार्कको कोपनहेगनबाट प्रारम्भ भएको हो । सन् २००० बाट औपचारिक रूपमा सुरुवात गरिएको यो अवधारणा विश्वका धेरै ओटा राष्ट्रमा सञ्चालनमा ल्याइएको छ । विश्वका केही देशमा यो अवधारणाअनुसारका कार्यक्रमहरू सञ्चालन भए पनि नेपालको शैक्षिक जगत्मा मानव पुस्तकालयको अवधारणा अघि सारी यस कार्यक्रमको विधिवत् प्रयोग र परीक्षण गर्ने प्रथम पालिका नै बौदीकाली हुनसक्ने अध्यक्ष ओझाले बताए ।
मानवजीवनका अनुभव र अनुभूतिलाई पुस्तक मानेर अन्तक्रियाका माध्यमबाट विभिन्न विषयक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको जीवनभोगाइबाट शिक्षा र सन्देश ग्रहण गर्नु यस अवधारणाको प्रमुख विशेषता रहेको हुनाले आगामी दिनमा पनि बौदीकालीमा जन्मेर आफ्नो क्षेत्रमा उच्चतम उपलब्धि हासिल गरेका मानव पुस्तकलाई समेटेर यो कार्यक्रम निरन्तर अगाडि बढ्ने छ ।
प्रतिक्रिया दिनुहोस