१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

पाल्पाका ऐतिहासिक किल्ला तथा गढीहरूमा पदयात्रा गरिने 

  • समर रानाभाट
  • ९ महिना अघि
  • पाठक संख्या १५०

  • पाल्पा – नेपाली सेनाले पाल्पाका ऐतिहासिक किल्ला तथा गढीहरूमा पदयात्रा गर्ने भएको छ । जिल्लाको ऐतिहासिक गढी तथा किल्ला बाकुमगढी, माथागढी, तानसेन र नुवाकोटगढीमा सेनासहितको टोलीले पैदल यात्रा गर्ने भएको हो । 

    नेपाल–अङ्ग्रेज युद्धताका प्रयोग भएका गढी तथा किल्लाको भ्रमण गरेर त्यसको प्रचारप्रसार गर्न सघाउ पुग्ने सेनाले जनाएको छ । यही चैत २८ गतेबाट गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली बैशाख २ गते पाल्पाको रामपुरस्थित केलादीघाटमाा आइपुग्ने दि फेमस महिन्द्र दल गणका प्रमुख सेनानी भुपेन्द्र गुरुङ्ले जानकारी दिनुभयो । 

    सैनिक र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन, नेपालीको गौरवपूर्ण इतिहासप्रति आम नागरिकलाई जानकारी गराउन र अभिरुचि पैदा गर्न पदयात्रा गर्न लागिएको उहाँले बताउनुभयो । पदयात्राले ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्व पूरा हुने प्रमुख सेनानी गुरुङ्ले जानकारी दिनुभयो ।


    सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहने सो गणका अप्रेसन अधिकृत जितबहादुर कार्कीले बताउनुभयो । पदयात्राले नेपाली सेनाले विगतको युद्धमा प्रयोग गरेका ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । 
    टोलीले गोरखाबाट बुटवलसम्म पुग्दा ३०५ किलोमिटर दुरी पार गर्नेछन् । यस्तै ११ दिनसम्म हुने पदयात्रामा ६ दिन पाल्पाका ऐतिहासिक स्थलको पदयात्रा हुनेछ । पदयात्रामा सेनाको विभिन्न दर्जाका ५२ जना सहभागी हुनेछन् । सो टोलीले बैशाख ७ गते बुटवलमा पुगेर राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्रामा सहभागी टोलीले पाल्पामा मात्र १६५ किलोमिटर दुरी हिड्नुपर्नेछ । नेपाली सेनाले गत वर्षदेखि गोरखादेखि पश्चिमतर्फको पनि पदयात्रा सुरु गरेको थियो ।