१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

प्राकृतिक मनोरमसँगै धार्मिक स्थल बन्दै देवचुली डाँडा

  • समर रानाभाट
  • ८ महिना अघि
  • पाठक संख्या २१४

  • नवलपुर । नवलपुरको अग्लो डाँडा देवचुलीमा रहेको माईको पूजामा आज ( ंमंगलबार) श्रद्धालुभक्तजनको घुईचो लागेको छ । चैते पूर्णीमाको दिन यहाँ तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदायले यस दिन शिरथान कुमारवर्ती माईको रुपमा पूजा गर्न देवचुली डाँडा पुग्ने गर्दछन् ।थारु समुदायका मानिसहरु देवचुली– ६ स्थित किर्तिपुर पहिलो दिन बास बस्ने र माईको आराधाना गरी दोश्रो दिन इन्द्रसोत पुगेर बास बसी तेस्रो दिन अर्थात पूर्णीमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णीमाको दिन अन्य समुदायले आफ्नो मनोकांक्षा पुरा होस् भन्दै पूजा गर्ने चलन रहेको छ ।

    पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयसेवकहरु परिचालन गरेको समितिका अध्यक्षका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो । भीडलाई ब्यवस्थापन गर्न श्रृजना सामुदायिक वन समुह किर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयसेवक उपलब्ध गराएको उहाँले बताउनुभयो ।

    पूजामा सहभागी भक्तजनहरुले भेडा, बाख्राका पाठा,पाठी, परेवा माईलाई चढाउने गरेको मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो ।यस बर्ष भेला भर्न नवलपुरका रजहर, कावासोती, डण्डा, पतवारी, कोल्हुवा, भैंसाखोरी पिठौली, बर्दघाट, लगाएतका क्षेत्रबाट एक हजार ५५ जना भक्तजनहरु देवचुली पुगेका हुन् । १८ सय मिटर अग्लोठाउँमा रहेको गुफा भित्र माईको पुजा गर्ने चलन छ ।

    परापूर्वकाल देखि चलि आएको तीनकन्यामाई पुजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको देवचुली नगरपालिका वडा नं. ६ का अध्यक्ष एवम् देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मिनबहादुर सोतीले बताउनुभयो । देवचुलीमाई , शिरनाथ कुमारवर्ती माईको नामले समेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भब्यताका साथ पूजा गरिन्छ । माइको पुजा आजागर्नाले यस जीवन र परलोकमा समेत सुख मिल्ने धार्मिक मान्यता रहेको छ । यस दिन थारु समुदायहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।

    १९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र बिभिन्न बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ । चुलीको १८०० मिटर उचाइमा गुफा रहेको छ । द्धापर युगमा पाच पाण्डव द्रौपदी सहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाले महत्व बोकेको छ । गुफा भित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा बिषेश आकर्षणका केन्द्रविन्दु बनेको छ ।

    पूर्वपश्चिम राजमार्गको दलदले देखी मुन्डे हुदै देवचुली नगरपालिकाको किर्तिपुरबाट पाँच किलोमिटिरको दुरी उत्तर तर्फ देवचुली डाँडा पर्छ । किर्तिपुरबाट पैदल हिडेर करिब तीन घण्टामा देवचुली डाँडा पुग्न सकिन्छ । सवारी साधनमा जाने र पहाड पनि घुम्न रुचाउनेहरु बुलिङटार वडा नं. ४ को बोझापोखरी हुदै पूर्व तर्फबाट र्तेस्रो बाटो हुदै चुली जान सक्छन् । किर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरु चुलीको फेदीमा भेट हुन्छन् । पैदलयात्रुलाई सहजहोस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिढी तथा रेलिङको ब्यवस्था गरेको छ देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले जानकारी दिनुभयो ।


    बुलिङटारबाट दक्षिण सुनारथुम्की हुदै घोरलडाँडा गाउँबाट देवचुली डाँडा पुग्न सकिन्छ । पूर्वतर्फबाट झेरी खण्डे दरवार हुदै बरचुली डाडा बाट यहाँ सम्म आउन सकिन्छ ।देवचुली डाँडा नवलपुरको गहनाको रुपमा रहेको छ । उत्ततर्फ मनमहोक दृश्य र दक्षिण तर्फको समथर फाँटहरुले पर्यटककालाई आकर्षण गर्दछ । चैत बैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउनेहरुलाई पुल्कित बनाउने गरेको छ । पुजा गर्न आउनेहरु युवायुवतीहरु चुली चढ्ने , लालीगुराँस टिप्ने काममा रुची देखाएका थिए । देवचुली डाँडा प्राकृतिक , साँस्कृतिक र ऐतिहासिक धार्मिक स्थलको संगममा रहेको छ ।

    देवचुलीमा जानेहरु शुद्ध भएर जानुपर्ने धार्मिक बिश्वास रहेको छ । गुफामा नै तीनकन्याको बसोबास हुने हुँदा फेदीबाट सुँगुर मासु लिएर जान नहुने परम्परा तथा मान्यताहरु रही आएको छ ।तीन कन्या माई संग मागेका कुरा प्राप्त हुने विश्वासका कारण पनि यहाँ आउनेहरुको संख्यामा बृद्धि हुदै गएको स्थानीयहरु बताउछन् । दलदले– बोझापोखरी–कोखेटार सडक, मुन्डे किर्तिपुर सडकको निर्माणले पर्यटकहरुलाई यहाँ आउन सहज भएको छ । पैदल यात्रा गर्नेहरुले भने दुई तिन घण्टाका लागि पिउने पानी र केही खानेकुराहरु भने आफै लैजानुपर्ने छ । धार्मिक आस्था हुनेहरु गुफा सम्म पुग्ने र पुजा गरेर फर्केने गर्दछन् । प्रकृतिमा रमाउने जोडीहरु चुली सम्म पुग्ने गर्दछन् । हाइकिङमा रमाउनेहरुको रोजाईमा देवचुली डाँडा रहेको छ ।स्रोत नवलपुर प्रेस