तनहुँ । तनहुँको मानपुर(डेडगाउँ(बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका- ४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडक खण्डमा हालसम्म तीन किमि सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।
पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, प्रमूख आचार्यले भन्नुभयो, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ ।”
विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो ।
विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माणकार्य ढिलाइ भएको हो । जिल्लामा यसवर्ष पिसिसि, आरसिस र कालोपत्र गरी २६ किमि सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।रासस
प्रतिक्रिया दिनुहोस