१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

भिमाद नगरपालिका वडा नं ६ द्वारा आयोजित ७ दिने मादल बजाउने तालिम सम्पन्न 

  • समर रानाभाट
  • ८ महिना अघि
  • पाठक संख्या १५३

  • वैशाख  ,भिमाद 

    भिमाद नगरपालिका वडा नं ६ द्वारा वैशाख ९ गते देखि १५ गते सम्म सन्चालित मादल  बजाउने तालिम आज सम्पन्न भएको छ । भिमाद नगरपालिका वडा नं ६ भित्र रहेका विभिन्न टोल विकास संस्थाका ४१ जनाको सहभागीता मादल बजाउने तालिम सम्पन्न भएको भिमाद नगरपालिका कार्यपालिका सदस्य एबम् वडा नं ६ कि वडा सदस्य इन्दिरा खड्काले बताएकी छन् । गाउँघरमा हुने विभिन्न नाचगान , सांस्कृतिक कार्यक्रम, उत्सव तथा शुभ कार्यहरुमा मादल बजाउन दक्ष बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको उनले बताएकी छन् ।  

    कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले तालिममा सिकेको सीपलाई निरन्तर अभ्यास गरी पोख्त हुन आग्रह गरेकी छन् । उनले भनिन् , " गाउँघरमा मादल बजाउन पुरुषलाई नै डाक्न पर्थ्यो , अब महिलाहरुले मादल बजाउन सिकेपछि पुरुषलाई बोलाउनु पर्ने बाध्यताको अन्त्य हुन्छ , नारीहरु जुनसुकै क्षेत्रमा अब्बल हुनुपर्छ नगरपालिकाले आगामी दिनमा अझै विभिन्न सिपमुलक तालिमको आयोजना गर्ने छौं " । 

    यस्तै कार्यक्रममा बोल्दै  भिमाद नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले पछिल्लो समय नेपाली लोककला र संस्कृति हराउँदै गई रहेको बताएका थिए । विशेषगरी अहिलेका युवा पुस्ताले नेपाली मौलिक बाजा , कला र संस्कृति प्रति कम चासो दिएकाले कला संस्कृति लोपन्मुख अवस्थामा पुग्न सक्ने जोखिम सृजना भएको बताएका थिए । 
    मौलिक कला र संस्कृति नेपालको पहिचान संग पनि जोडिने भएकाले गायन वाद्यवादन कला पुस्तान्तरण  हुनुपर्ने आवश्यकता रहेको उनले बताएका थिए ।  

    यस्तै भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले संस्कृति जोगाउन तथा महिलाहरुलाई आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउने उद्देश्यको साथ मादल बजाउने तालिम सञ्चालन गरेको बताएका थिए । उनले मादल बजाउन सिक्नको लागि ७ दिन मात्र पर्याप्त नहुने भएकाले घरमा पनि परिवारसंग बसेर सिकेर स्वमूल्यांकन गर्न सुझाएका थिए । स्थानियको माग र रुचिलाई ध्यानमा राख्दै आगामी आवमा महिला लक्षित नौमती बाजा तालिम , मादलमा खरी हाल्ने तामिल आयोजना गर्ने तयारीमा रहेको उनले बताएका थिए । यस्तै उनले भिमाद नगरपालिका वडा नं ६ भित्र रहेका १६ वटा टोल विकास संस्थालाई १/१ वटा मादल वितरण गरेको बताएका छन् । 

    यस्तै तालिमका प्रशिक्षार्थी मोनिका गैरेले तालिमबाट आफूहरुले झ्याउरे , रतौली , भजन , चुड्का लगायत विभिन्न ताल हरु सिकेको बताएकी थिइन् । तालिम अगाडि मादल राम्रोसंग लिन नजान्ने अवस्थामा अहिले तालिम पछि धेरै कुराहरु सिकेको र आत्मविश्वास बढेको उनले बताएकी थिइन् । 

    मादल बजाउने तालिमलाई प्रशिक्षक दुर्गा बहादुर सार्की र अमृत परियारले सहजिकरण गरेका थिए । भने कार्यक्रममा भिमाद नगरपालिका योजना शाखा प्रमुख टेकावती ढकाल , वडा सदस्य पदम कुमार श्रेष्ठ , कोपिला नेपाली , बेल बहादुर थापा लगायतको उपस्थिती रहेको थियो।