१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

‘ जीवन बीमा गर्नु पर्छ र गराउनु पर्छ ’ भन्ने अभियानमा जुटेकी अनिता रानाभाट, नसक्नेको लागि बचत

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या २२५

  • चितवन । ‘ एक थुकी सुकी सय थुकी नदी ’ यस कथनले सामूहिक कार्यको परिणामलाई इङ्गित गर्छ । बीमा अभिकर्ता पेशाका २ वटा पाटा हुन्छन् । पहिलो पाटो स्वयं एक्लै व्यवसाय गर्ने र दोस्रो सामूहिक रुपमा व्यवसाय गर्ने । जसलाई बीमा कम्पनीहरुले ‘ सिङ्गल कोड ’ र ‘ समूहबाट ’ छुट्टाएका हुन्छन् । यस मध्ये एकदमै कमले मात्रै समूहलाई रोज्छन् र आफूलाई फैलाउ छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ एजेन्सी म्यानेजर अनिता रानाभाट ( गौरी रानाभाट ) सिङ्गल कोडबाट भन्दा पनि सामूहिक व्यवसायमा बढी विश्वास गर्छिन् ।तनहुँको भानु नगरपालिका -७, रम्घाटार गाउँमा जन्मेकी र पछि विवाह लमजुङ गएकी हाल चितवनको भरतपुरमा स्थायी बसोबास गर्ने अनिता रानाभाट ( गौरी रानाभाट ) को अभिकर्ता यात्रा अरुको भन्दा रोचक छ ।

    रानाभाट बीमाका लागि नेपालका जुनसुकै भू – भागमा पुगेकी छिन् , खासमा नयाँ पोलिसी खोज्न भन्दा पनि महिला दिदीबहिनिहरुलाई बीमा अभिकर्ता बनाउन । सामाजिक सञ्जाल तथा फोन मार्फत सम्पर्कमा आउने जो सुकैलाई रानाभाट बीमा अभिकर्ताका लागि प्रस्ताव गर्छिन् । रानाभाटले यसरी सम्पर्कमा आउनेहरुलाई अभिकर्ता मात्रै बनाउदिनन् बीमा गर्न र गराउन पनि सिकाउ छिन् । यो नै रानाभाटको बीमा प्रतिको सबैभन्दा ठुलो समर्पण हो । रानाभाटको अभिकर्ताको यात्रा भने वि.सं. २०७१ सालतिरैबाट भएको थियो, तर त्यतिबेलाको तितो अनुभवले उनलाई अभिकर्ता पेशामा निरन्तर लाग्न मन लागेन ।

    आफू बीमित खोजेर ल्याउने, तर अर्को व्यक्तिले आफ्नो कोड मार्फत बीमा गराएर कम्पनीले दिने सेवा सुविधा आफैँ दिइदिए पछि रानाभाटलाई यो काम गर्नै मन लागेन, तर यस अवधिमा रानाभाटले बीमाको तालिम लिइन् र बीमाको बारेमा आधारभूत रुपमा धेरै कुराहरु जान्ने मौका भने पाइन् । यस क्रममा रानाभाट अन्य विभिन्न पेशामा संलग्न भइन् । कामकै सिलसिलामा रानाभाटलाई तामाङ भाषा जान्ने मानिस चाहियो । रानाभाटको नजिकका साथिभाइमा तामाङ भाषा जान्ने खासै कोही थिएनन् । फेसबुकमा रानाभाटले तामाङ थर भएका साथि खोजिन् । सोहि क्रममा खोज्दै जादा ‘ माइला तामाङ ’ नाम भेट्टाइन् । फेसबुकमा साथि भए पनि रानाभाटको चिनजान भने थिएन । रानाभाटले फेसबुक मार्फत सम्पर्क गरिन् ।आफ्नो कामको उद्देश्यका लागि रानाभाटले राजधानी काठमाडौंको चावहिलमा भेटघाट गरिन् ।

    सोही भेटघाटका क्रममा तामाङले आफू बीमा अभिकर्ताको रुपमा काम गरिरहेको भन्दै रानाभाटलाई पनि काम गर्न अनुरोध गरे । रानाभाट बीमा अभिकर्ताको विषयमा अनविज्ञ थिइनन् । जानेकै काम गर्ने भएकाले रानाभाटले ठिकै छ गरौँ न त भनिन् । यसरी तामाङकै अनुरोधमा रानाभाट साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा वि.सं. २०७६ साल चैतमा अभिकर्ता बनिन् । यस पटक भने रानाभाटलाई बीमा क्षेत्रमा राम्रै रस पस्यो । बीमाकै लागि रानाभाट देश दौडाहामा निस्किइन् । यस अवधिमा रानाभाटले ४ सय हारारीलाई बीमा गराइसकिन् , भने यति नै हाराहारीमा अभिकर्ता पनि बनाइसकिन् ।बीमाकै लागि होमिएकी रानाभाटले शुरुका वर्षमा आफूले बनाएको टिमका सबै साथिहरुले व्यवसाय पाउनु पर्छ भनेर १ जनाको मुनि अर्कोलाई जोड्दै गइन् , तर यसबाट रानाभाटले आर्थिक लाभ पाउन नसके पनि आफू मातहतका साथिहरुले गरेको प्रगतिबाट भने उनि खुसी छिन् ।

    ‘ बीमा गर्नु पर्छ र गराउनु पर्छ ’ भन्ने अभियानमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै पुगिसकिन् । सामाजिक सञ्जाल रानाभाटका लागि बरदान बनेको छ । जसले पूर्व मेचीदेखि पश्चिम महाकालीका दिदीबहिनी तथा दाजुभाइहरुलाई जोड्ने मौका पाएकी छिन् । बीमा बचत, लगानी र जोखिम बहन गर्ने साधन भएकाले यसलाई नेपाल अधिराज्यभर पुर्याउनु पर्ने रानाभाटको भनाइ छ । रानाभाट बीमाका लागि जोड दिन्छिन् । कहिल्यै पनि ठूला – ठूला बीमाङ्कका लागि बीमितलाई दवाव दिने नगरेको रानाभाटले बताइन् । क्षमता अनुसार सानै पोलिशी भए पनि बीमा गर्नु पर्ने रानाभाटको सुझाव छ ।बीमा सम्पन्नशाली व्यक्तिहरुका लागि भन्दा पनि निम्न आय वर्गका मानिसहरुका लागि बढी महत्वपूर्ण रहेको रानाभाटको विश्लेषण छ । यसरी बीमालाई अभियानका रुपमा अगाडी बढाएकी रानाभाट कम्पनीका २६ वटा भन्दा धेरै शाखामा पुगिसकिन् । त्यो पनि घुम्न होइन बीमा अभिकर्ता र बीमा पोलिशी सहित । आजका दिनमा रानाभाटका २६ वटा शाखामा आफैँले बनाएका अभिकर्ता दिदीबहिनी तथा दाजुभाइहरु छन् । त्यस्तै, रानाभाटले १५ वटा भन्दा धेरै शाखाबाट बीमा पोलिशी जारी गराएकी छिन् ।

    बीमा अभिकर्ता बनाउदै गर्दा भेटिने बीमितलाई रानाभाट उनीहरुकै पायक पर्ने शाखा कार्यालयबाटै पोलिशी जारी गरिदिन्छन् । ताकी उनीहरुलाई भोलिका दिनमा केही साह्रो / गाह्रो पर्यो भने सोही शाखामा उपस्थित भएर आवश्यक काम गर्न सकियो ।राजधानी काठमाडौं आएको बेलामा काठमाडौंकै विभिन्न स्थानमा रहेका शाखा र विराटनगर पुगेका बेलामा विराटनगरकै विभिन्न स्थानमा रहेका शाखाबाट पोलिशी जारी गर्ने भएकाले रानाभाटको प्राय: शाखा कार्यालयका कर्मचारी तथा शाखा प्रमुखसँग रानाभाटको राम्रो सम्बन्ध छ । रानाभाटको यस अभियानले सम्बन्धित शाखाहरुले अभिकर्ता र बीमित पाइरहेका छन् । यसरी बीमाकै लागि देश दौडाहमा निष्किदा रानाभाटलाई सबैभन्दा धेरै खड्किने विषय तालिम हो । बीमा अभिकर्ता र बीमितहरुलाई बुझाउने गरी तालिमहरु आयोजना गर्न नसकिएकोमा भने रानाभाटलाई दु:ख लाग्छ । रानाभाटका ३ सय भन्दा धेरै अभिकर्ताहरु मध्ये २ सय भन्दा धेरै महिलाहरु छन् । जुन ठाउँमा गएर रानाभाट बीमा अभिकर्ता बनाउछिन्  , त्यस ठाउँमै बसेर उनी बीमा पोलिशी जारी गर्न सक्ने बनाएर मात्रै फर्किन्छन् ।

    स्थानीय निकाय तथा संघ / संस्थाहरुसँग समन्वय गरेर हुन्छ कि कम्पनीकै उच्च पदस्थ व्यक्तिहरुलाई भनेर हुन्छ अथवा जसरी पनि बीमित र अभिकर्ताहरुलाई बीमाको बारेमा धेरै भन्दा धेरै ज्ञान दिलाउने र सक्षम बनाउने रानाभाटको अभियान हो ।रानाभाटले बनाएका अभिकर्ताहरु मध्ये सबैभन्दा धेरै महिलाहरु चितवनको नारायणघाट र काठमाडौंको ज्ञानश्वेर शाखामा छन् । रानाभाट वि.सं. २०५५ सालतिर लमजुङ जिल्लामा शिक्षक पेशामा आवद्ध थिइन् , शिक्षक पेशा छाडेर रानाभाट चितवन झरिन् । चितवनमा भने रानाभाटको प्रमुख पेशा कृषि बन्यो । कृषिमा पनि उदाहरणीय काम गरिन् । खेती किसानीमा पनि धेरै समस्या झेल्नु पर्यो । यतिकैमा रानाभाटको अभिकर्ता पेशामा आवद्धता रह्यो । ‘ एक घर एक पोलिशी ’ अभियानका रुपमा रानाभाटले आफ्नो टोलमा ५७ जना महिला दिदीबहिनीहरुलाई अभिकर्ता बनाइसकिन् ।अभिकर्ता बनाएर मात्रै नहुने भन्दै मनैबाट बीमा गराउन मन लगाउने खालको तालिमको असाध्यै खाचो रहेको रानाभाटले बताइन् ।

    रानाभाटलाई अब यो पेशा धेरै प्यारो लागि सक्यो । रानाभाटको पेशाप्रति यति धेरै लगाव बढी सक्यो कि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हरेक महिनामा जारी गर्ने जुनसुकै टार्गेटलाई पूरा गर्छिन् । यसरी टार्गेट पूरा गर्ने क्रममा रानाभाटले देशको जिल्ला साथै धेरै वटा विदेशमा घुम्ने मौका पाइसकिन् । रानाभाटले भनिन्, ‘बीमा क्षेत्रमा कमाउने पनि हो र रमाउने पनि हो ।’