तनहुँ जिल्ला फुटबल संघ द्वारा आयोजित जिल्ला लिग छनोट फुटबल प्रतियोगिता २०८०/८१ को उपाधि जनसेवा स्पोर्टस क्लब शुक्लागण्डकी नगरपालिका ८ गणपति उचालेको छ । आज भएको फाईनल खेलमा नव युवा क्लब व्यास नगरपालिका १ हाइस्कूलटारलाई २-१ को गोल अन्तरमा पराजित गर्दै जनसेवा स्पोर्टस विजयी बन्न सफल भएको हो । प्रतियोगितामा विजयी बन्दै जनसेवा स्पोर्टसले नगद २० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता बन्दै नव युवा क्लबले १० हजार को साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् ।
जनसेवा स्पोर्टसले सेमी फाईनल खेलमा बरपीपल युवा क्लब म्याग्दे गापा ५ थाङ्दीलाई ४-३ गोल अन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने नव युवा क्लबले फ्रेन्डशिप युवा क्लब म्याग्दे गापा १ गुणादीलाई १-० गोल अन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले गण्डकी प्रदेशले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर आगाडि बढी रहेको बताएका थिए । राज्यले खेलाडीहरुलाई खेलकुदको माध्यम बाटै व्यवसायिक र आत्मनिर्भर बनाउन नसकेकाले ठूलो घाटा बेहोर्नु परेको बताएका थिए ।
यस्तै एन्फा तनहुँका अध्यक्ष सत्य भक्त पालिखेले फाईनलमा प्रवेश गरेको दुई टिम जिल्ला लिगको लागि छनोट भएको बताएका थिए । उनले एन्फा तनहुँले आगामी दिनमा फुटबलको माध्यमबाट तनहुँका खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेलाडी बनाउने लक्ष्य राखेको बताएका थिए ।
जिल्ला लिग छनोट फुटबल प्रतियोगिता सेमिफाईनलमा प्रवेश गरेका ४ सहित नमुना युवा क्लब शुक्ला २ र शुक्लागण्डकी युवा क्लब दुलेगौंडाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस