नवलपुर । सम्राट पाण्डे
नवलपरासी (ब.सु.पु) नवलपुर जिल्लाको ग्रामीण क्षेत्र मानिने बौदीकाली गाउँपालिका बिस्तारै कृषि क्षेत्रमा अघि बढ्दै गरेको छ । केही समयदेखी खस्किदै गरेको कृषि क्षेत्रलाई फेरि पनि उकास्न विभिन्न प्रयास र योजना ल्याइएको हो ।
बौदीकाली गाउँपालिकामा लगभग ९०% जनसंख्या कृषि पेशामा आबद्ध रहेको बौदीकाली गाउँपालिका कृषि शाखाको तथ्यांक रहेका छन् । बौदीकाली गाउँपालिकामा धान , मकै , गहुँ , मास , भट्ट , बोडि जस्ता विभिन्न खाद्य बालीहरु उत्पादन हुन्छ ।
बौदीकाली गाउँपालिकाले पालिका भित्र भएका जनशक्तिलाई पालिका मै रोजगार प्रदान गर्नको निमित्त विभिन्न तालिम सञ्चालन गरेको बौदीकाली गाउँपालिका कृषि शाखा प्रमुख संगम बस्नेतले बताउनुभयो । बस्नेतले आर्थिक वर्ष ८०/८१ मा गाउँपालिका भित्र उत्पादन भएका फुलहरुलाई प्रवर्द्धन कार्यक्रम , बगर खेती प्रवर्द्धन कार्यक्रम , उन्नत कृषि प्रबिधि प्रोत्साहन कार्यक्रम , कृषक तालिम तथा क्षमता विकास कार्यक्रम ,माटो परिक्षण शिबिर सञ्चालन , कृषि मेला ( हाट बजार ) , कृषि उत्पादनको बजारीकरण सहयोग , कृषि औजार यन्त्र वितरण कार्यक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन भएको कुरा जानकारी दिनुभयो ।
उहाँले पालिकाको कृषि शाखाले सधैं कृषकको हितको निमित्त काम गर्ने बताउनुभयो ।आर्थिक वर्ष ८१/८२ का लागि कृषक तालिम तथा क्षमता विकास कार्यक्रम , एक वडा एक नमूना फर्म स्थापना कार्यक्रम , कृषि बजारीकरण सहयोग कार्यक्रम , फुल तथा फलफूल प्रवर्द्धन कार्यक्रम , मौरीपालन प्रवर्द्धन कार्यक्रम , साना सिंचाइ कार्यक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको छ ।
बौदीकाली गाउँपालिकाले आर्थिक वर्ष ८०/८१ को लागि ८३ लाख ५० हजार बजेट छुट्याइएको थियो भने यस आर्थिक वर्ष ८१/८२ को लागि ६४ लाख बजेट विनियोजन गरेको छ ।
बौदीकाली गाउँपालिकालाई नवलपुर जिल्लाकै उत्कृष्ट बनाउनको निमित्त रात दिन नभनी लागि परेको र यो बर्ष बौदीकाली गाउँपालिकाले दुग्धजन्य पशु खरिदमा ब्याज अनुदान , कृषक समूह गठन तथा कृषिजन्य बस्तुहरूमा अनुदान , साना सिचाइ कार्यक्रम मार्फत किसानलाई विभिन्न सहयोग ,बीउ अनुदान ,आवश्यक बिषाधि नियमित रूपमा अनुदानमा उपलब्ध ,पालिकाको प्राविधिक द्वारा रोग का बारेमा स्थलगत अनुगमन साथै सल्लाह प्रदान ,उचाइ अनुसार उत्पादन हुने विभिन्न कृषि उपजका बारेमा जानकारी लगाएत विभिन्न कामहरु सञ्चालन गरेको र अबका दिनहरुमा पनि अझ उत्कृष्ट कार्यक्रम र योजना लिएर अघि बढ्ने बौदीकाली गाउँपालीका अध्यक्ष प्रकाश ओझाले बताउनु भयो ।
ओझाले बौदीकाली (२) डेढगाउँ मा अवस्थित डेढगाउँ मा.विमा प्राबिधिकधार ११/१२ कक्षामा अध्ययनरत बिद्यार्थी र कृषकबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिनु भएको छ । बौदीकाली गाउँपालिकाले शिक्षा र कृषि क्षेत्रलाई बढि जोड दिएको र आफ्नो कार्यकाल सकिँदा सम्म बौदीकाली गाउँपालिकाका जनशक्तिलाई स्वरोजगार उन्मुख बनाउने समेत जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस