१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

शैक्षिक क्षेत्रको विकासमा अघि बढ्दै बौदिकालीको डेढगाउँ मा वि

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या २६९

  • सम्राट पाण्डे ।
    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बौदीकाली गाउँपालिका वडा नं २ डेढगाउँमा अवस्थित डेढगाउँ माध्यमिक विद्यालयको शैक्षिक गतिविधिले पालिका मात्रै नभई जिल्लामा समेत फड्को मार्दै गएको छ । पछिल्लो समय नेपालभरीनै शिक्षा क्षेत्र खस्कदै गर्दा डेढगाउँ मा.विले भने उत्कृष्ट नतिजा दिँदै आएको छ । 

    भर्खरै मात्रै प्रकाशित एस.ई.ई र एस.एल.सिको नतिजाले बौदीकाली गाउँपालिकामा त बर्चस्व छ नै जिल्लासमेत उत्कृष्ट नतिजा दिन सफल भएको छ । २०८० सालको एस.ई.ई परिक्षामा डेढगाउँ मा.वि ८६.३६% सहित गाउँपालिका प्रथम भएको थियो । परिक्षामा सहभागी २२ जना विद्यार्थी थिए जहाँ १८ जना उत्तीर्ण भएका थिए।त्यस्तै २०८० कै एस.एल.सि नतिजामा  ८५.१३% सहित पालिकाको प्रतिनिधित्व गरेको थियो । परिक्षामा ७४ जना सहभागी भएकोमा ६३ जना विद्यार्थी उत्तिर्ण भएको ११ जना अनुत्तीर्ण भएको श्री  डेढगाउँ मा.विका प्रधानाध्यापक गंगा बिश्वकर्माले जानकारी दिनु भयो । 

    डेढगाउँ मा.विमा लगभग ४८६ जना विद्यार्थीहरु छन् । जहाँ +2 शिक्षा (Education) अन्तर्गत अङ्ग्रेजी र नेपाली  तथा प्राबिधिक धार तर्फ कृषि (बाली बिज्ञान ) पढाई हुन्छ । योग्य र दक्ष शिक्षक, भौतिक पूर्वाधार मजवुत, साधारण र कृषि दुवै तर्फ छात्रवृत्तिको व्यवस्था, प्राविधिक तर्फ बौदीकाली गाउँपालिकाबाट मासिक रु ५०००।- को छात्रवृत्ति, ICT ल्याब, पुस्तकालय र विज्ञान प्रयोगशाला व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था रहेको छ । 

    डेढगाउँ माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न किसिममा खेलकुद प्रतियोगितामा उकृष्ट प्रदर्शन गर्दै पालिकाका विविध खेलकुदमा प्रथम एवं राष्ट्रपती रनिङ शिल्डमा पनि पालिका मात्रै नभई जिल्लामा समेत आफ्नो बर्चस्व कायम रहेको डेढगाउँ मा.विका अतिरिक्त क्रियाकलापका Co-ordinator

    युवराज चापागाईंले बताउनुभयो । उहाँले अबका दिनमा पढाईलाई मात्रै नभई संगसंगै अन्य कला, गला र खेलकुदलाई समेत प्राथमिकतामा राखी विभिन्न किसिममा कार्यक्रमहरु विद्यालयले गर्ने बताउनु भयो । 

    विद्यालयमा प्राबिधिक धार अन्तर्गत कृषि बिषयको समेत पढाई हुने हुनाले विद्यार्थीले विद्यालयका कृषि प्रशिक्षकहरुको सहयोग र निर्देशनमा 'पढ्दै कमाउदै' कार्यक्रम अन्तर्गत गत तीन महिना ( माघ, फाल्गुन र चैत )मा स्थानीय बजारमा विद्यालयको फिल्डमा उत्पादन गरेका गोलभेडा १८० किलो, बन्दा २०० किलो , काउली १८० किलो , आलु ३० किलो, भान्टा ८० किलो , च्याउ ६० किलो र अन्य अरु तरकारीहरुपनी बिक्री बितरण गरेका छन र उत्पादन गरेका तरकारी बिक्रीवितरण गरि विद्यार्थीले सामुहिक खाता खोली आफ्नै खातामा पैसा जम्मा गरेको र अहिलेसम्म लगभग ५० हजार रकम जम्मा भइसकेको कृषि कक्षा १२ मा अध्ययनरत आश्मा घर्तिले बताउनुभयो । उहाँले विद्यालयले विद्यार्थीको हक, हितको निमित्त विभिन्न कामहरु गरेको पनि बताउनुभएको छ । 

    त्यस्तै अभिभावक र विद्यालयलाई एकै ठाउँमा जोड्नको निमित्त विभिन्न किसिमका अभिमुखिकरण कार्यक्रमहरु सञ्चाल गरेको कुरा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष यादव ओझाले बताउनुभयो । उहाँले विद्यालयको यस संघमा बिगत तीन कार्यकाल सम्हालेको तर अहिलेको कार्यकाल जति सहज तरिकाले उत्कृष्ट काम गर्न नसकेको कुरा पनि उल्लेख गर्नुभएको छ । 

    डेढगाउँ मा.विको शैक्षिक र भौतिक विकासको निमित्त राइट फर चिल्ड्रेनले सहकार्य गरेको छ । विद्यालयले आगामी ४ वर्ष सहयोगी संस्था राइट फर चिल्ड्रेन र बौदीकाली गाउँपालिका सँग गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सन्दर्भमा विभिन्न शैक्षिक तथा पूर्वाधार विकास क्षेत्रमा सहकार्य गर्ने छ । 

    आफू पढ्ने क्रममा धेरै दु:ख भोगेको तर अहिलेका विद्यार्थीलाई त्यस्तो दु:ख नपरोस् भनेर विद्यालयले शैक्षिक सुधारको निमित्त पाइला चालेको डेढगाउँ मा.वि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बाल प्रसाद ठाडाले बताउनुभयो । विद्यालयका शिक्षक ,अभिभावक, र विद्यार्थीको सहयोगले विद्यालयको सुधारको निमित्त निकै सहयोग पुगेको उहाँले बताउनुभयो । ठाडाले विद्यालयको भौतिक स्थित अलिकति कमजोर भएको र बिस्तारै विभिन्न सहयोगी संस्था , पालिका र सबैको सहयोगमा ती समस्याको पनि समाधान गर्ने बताउनुभयो । उहाँले सबैको सल्लाह र सुझावले विद्यालयलाई अगाडी बढाउने र नवलपुर जिल्ला कै उच्च गुणस्तरीय शिक्षा भएको विद्यालय बनाउने बताउनुभयो । 

    कालीगण्डकी उपत्यकाको प्रमुख क्षेत्र, शैक्षिक र बौद्धिक व्यक्तित्वहरुको उदगम स्थलको रुपमा परिचित, देशको विभिन्न नेतृत्वदायी तहहरुमा कार्यरत जनशक्ति उत्पादन गरेको डेढगाउँ र यस क्षेत्रको विरासत कायम राख्न, अत्यन्तै सम्भावना बोकेको डेढगाउँ माध्यमिक विद्यालय शैक्षिक सुधार र रूपान्तरणको काम गरी गुणस्तरीय शिक्षा कायम गर्ने सन्दर्भमा सम्पूर्ण शिक्षक कर्मचारी, वि. व्य. स पदाधिकारी, शिक्षक अभिभावक संघ, अभिभाक, गाउँपालिका, वडा र सरोकारवाला सबैमा नैतिक दवाव देखिन्छ । 

    विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने गरि नेतृत्वदायी भुमिकाको रुपमा रहने गरि विद्यालयको समग्र शैक्षिक सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न प्रयास र कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक गंगा विश्वकर्माले बताउनु भयो  । भर्खरै आफू प्र.अको जिम्मेवारी लिए पश्चात् विद्यालय सुधार योजनामा रहि आधारभुत तह (१-५) का विद्यार्थीको जग बलियो बनाउन योजनाबद्द ढंगबाट अगाडी बढेको , उपचारात्मक कक्षा, विद्यार्थी क्षमता विकासका कार्यक्रम, गृहकार्य केन्द्र सञ्चालन, प्रमुख रुपमा विद्यालयका समग्र गतिविधि, विद्यार्थी तथा शिक्षकको लेख रचनालाई समेटेर अर्धबार्षिक विद्यालय पत्रीका , विभिन्न किसिमका सिकाइ क्लब, विद्यालय वरपर रहेका विभिन्न संस्था , ब्यवसायिक प्रतिष्ठान , बैंक , समाजिक संस्था लगाएत अन्य ब्यक्तिहरुसंग समन्वय गरेर विभिन्न किसिमका सहयोग आह्वान गरेको र सहयोग उपलब्ध भइसकेको उहाँले जानकारी दिनुभयो । 

    बिश्वकर्माले विद्यालयको हक , हितको निमित्त "The Club Hundred" कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । यसमा सहयोग गर्नको निमित्त सबै किसिमका ब्यक्तित्वको सहभागी होस भनेर मासिक रु १०० प्रदान गर्न सक्ने गरि यो बिधि सुरुगरिएको उहाँले बताउनुभयो । 

    विद्यालयलाई अगाडि बढाउन निकै जोड तोडका साथ अघि बढेको र आगामी दिनको लागि विद्यार्थीको क्षमता अभिबृद्दिका र प्रस्तुतिका विभिन्न कार्यक्रमहरु , समाज रुपान्तरणमा शिक्षालाई जोड्ने कार्यक्रमहरु, विद्यार्थीको मुल्यांकन , परिक्षा ब्यवस्थापन जस्ता थुप्रै कार्यहरुको योजना रहेको र शिक्षक - कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ, सम्पूर्ण अभाभिवक, बौदीकाली गाउँपालिका, शिक्षा शाखा, विद्यार्थीहरु सबैको साथ र सहयोगमा विद्यालय उत्साह साथ शैक्षिक सुधारमा लागेको कुरा प्र.अ बिश्वकर्माले बताउनुभयो ।