रोट्रयाक्ट क्लब अफ कावासोतीले आफ्नो पाँचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कावासोती खानेपानी संस्थानको सभाहलमा भएको कार्यक्रममा क्लबका वर्ष २४/२५ का अध्यक्ष गोविन्द सिग्देलले अध्यक्षता गर्नुभएको थियो । उक्त कार्यक्रममा पूर्व न्यायाधीश तथा वरिष्ठ सामाजिक, बौद्धिक व्यक्तित्व ऋषि अधिकारी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भने मातृ क्लब रोटरी क्लब अफ कावासोतीका अध्यक्ष केशवराज भट्टराई, मातृ क्लब अफ रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेल, रोट्रयाक्ट क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष परमानन्द गौतम, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल-भूटान जोन १४ का जेड.आर.आर सुरज भण्डारी, कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिव पाण्डे विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
रोटरी क्लब अफ कावासोतीका पूर्व अध्यक्ष भोजराज दाहाल, त्यसैगरी पूर्व अध्यक्ष जीवन सापकोटा लगायत रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल-भूटानका पदाधिकारीहरु, रोट्रयाक्ट क्लब अफ कावासोतीको ट्रिपलेट क्लब रोट्रयाक्ट क्लब तिलोत्तमा देवदहका अध्यक्ष सन्दीप पौडेल, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल-भूटान जोन १४ का सम्पूर्ण क्लबका अध्यक्षहरु अतिथिको रूपमा रहनुभएको थियो ।
पञ्चकन्यालाई टीका लगाई कार्यक्रमको समुद्घाटन गरिएको कार्यक्रम क्लबका उपाध्यक्ष वसन्त क्षेत्री तथा इन्टरनेसनल सर्भिस चेयर आयुषा कुँवर क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा रोटरी वर्ष २०२३/२४ का अध्यक्ष शेषनारायण पौडेलले आफ्नो वर्षभरिको कार्यकालमा भएका गतिविधिहरूको समीक्षा गर्दै एक ऐतिहासिक वर्ष सम्पन्न गराउन सफल भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने वर्षभरिमा उत्कृष्ट कार्य गर्ने रोट्रयाक्टरहरूलाई पनि सम्मान गर्नुभएको थियो ।
रोटरी वर्ष २४/२५ का अध्यक्ष गोविन्द सिग्देलले विगतका वर्षहरूमा पूर्व अध्यक्षहरूले गर्नुभएको योगदानको उच्च कदर गर्दै आफूले सोहीबाट पाठ सिक्दै अगाडि बढ्ने र आउने दिनमा अझै क्लबलाई उच्च स्थानमा पुर्याउने प्रतिज्ञा व्यक्त गर्नुभयो । साथै रोटरी वर्ष २४/२५ का अध्यक्ष, बोर्डका पदाधिकारी लगायत नयाँ सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रम भएको थियो । रोट्रयाक्ट क्लब अफ कावासोतीको इतिहासमा नै यस वर्ष १९ जना विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका व्यक्तिहरू नयाँ सदस्यको रूपमा प्रवेश गर्नु भएको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि, लगायत अतिथिहरूले रोट्रयाक्ट क्लब अफ कावासोतीले स्थापनाको छोटो समयमा नै समाजसेवा, युवा उत्प्रेरणा कार्यक्रम तथा वातावरण संरक्षण जस्ता विविध कार्यक्रममा अग्रणी भूमिका निर्वाह गरेको, युवाहरूलाई एउटा सत्कर्मको बाटोमा हिँडाउन सफल भएको र आउने दिनहरुमा समाजको नेतृत्व, स्थानीय निकाय तथा राष्ट्रकै सफल नेतृत्व गर्न सक्ने क्षमता भएका युवाहरू आउनेमा विश्वस्त रहेको विचारहरू व्यक्त गर्नुभयो । आउने वर्षहरूमा पनि क्लबले यस्तै उदाहरणीय कार्यहरु गर्दै समाजको हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति भएको थियो भने क्लबले केही नयाँ कामको सुरुवात गर्ने अभियानमा मायाको चिनो वितरण कार्यक्रमलाई "एक जेहेन्दार विद्यार्थी, एक शैक्षिक सामग्री" भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै जनकल्याण मा वि , जिवन ज्योती मा वि , ज्ञनोदय मा वि र मौलाकाली अपाङ्ग संस्थाका विद्यार्थीहरू शैक्षिक सामाग्री वितरण गरिएको थियो ।क्लवले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आगामी दिनहरूमा यस्ता सामाजिक कार्यमा निरन्तरता दिने क्लवका अध्यक्ष गोविन्द सिग्देलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस