१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

सामाजिक संजालको प्रयोग गरि स्थानीय उत्पादन बिक्रीमा सहजिकरण गर्दै बौदीकाली गाउँपालिका

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या ११७

  • दयाराम आचार्य ,नवलपुर । सामाजिक संजाललाई व्यक्तिहरूले विभिन्न रुपमा प्रयोग गर्ने गरेका छन् । यसको सदुपयोग सँगै दुरुपयोगका घटनाहरू समेत विभिन्न समयमा सार्वजनिक हुने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिकाले भने स्थानीय उत्पादनलाई बिक्री गर्ने थलोको रुपमा सामाजिक संजाल फेसबुकको प्रयोग गरेको छ । जिल्लाको पहाडी क्षेत्र अन्तरगत पर्ने यस पालिकाले आफ्नो पालिका भित्र उत्पादन भएका कृषि उपज तथा पशुपन्छीको बिक्री गर्ने थलोको रुपमा सामाजिक संजाल फेसबुकलाई सदुपयोग गर्दै आएको छ । पालिकाले ‘स्थानीय उत्पादन बिक्री संजाल बौदीकाली’ नामको फेसबुक पेज निर्माण गरेर स्थानीय उत्पादनको बिक्रीको सूचनाहरू प्रकाशन गर्दै आएको छ ।

    बौदीकाली- ३ , रकुवाका तेज बहादुर थापाको भैंसी बौदीकाली २ का रूपनारायण ओझाले यहि सुचना हेरेर खरिद गर्नुभयो । भैँसी बिक्रीको सूचना उक्त पालिकाको सामाजिक संजालमा प्रकाशन भएको थियो ।

    प्रविधिको प्रयोग गरि स्थानीय उत्पादनको बजारिकरण गर्न सुरु गरेको यो कार्य राम्रो लागेको स्थानीयले बताएकाछन् । यसले किसानको उत्पादनलाई बिक्री गर्नलाई सहयोग पुग्ने किसानकाे भनाई छ ।शुक्रबार मात्र उक्त पेजमा बाख्रा र हरियो खुर्सानी बिक्रीको सूचना प्रकाशन भएको छ । पेजमा स्थानीय सुन कागती , स्थानीय जातको सुँगुर, भैँसी लगायतका स्थानीय उत्पादनको बिक्रीको सूचना प्रकाशन भएकाछन् । हालै बिक्री केन्द्रको रुपमा सामाजिक संजालको प्रयोग गर्न सुरु गरेको र यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।


    पहाडी क्षेत्रमा कृषि जन्य र पशुपन्छी उत्पादन हुने गर्दछन् । तर किसानले आफ्नो उत्पादन बिक्री गर्नुपर्ने हो भने कहाँ लैजाने आफैमा अन्योल हुने हुँदा पालिकाले प्रविधिको सहारा लिएर बजारिकरण सहयोग गर्न लागेको अध्यक्ष ओझाले बताउनुभयो । यसले किसानहरूलाई राहत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । पालिकाले यो अभियान थालेसँगै किसानले समेत आफ्नो उत्पादन बिक्रीको सूचना पालिकामा पठाउन थालेकाछन् ।

    किसानहरू प्रविधिमा जोडिदै जाँदा यसले थप बजारीकरणमा सहयोग पुग्ने अध्यक्ष ओझाले बताउनुभयो । ‘पालिकाले ‘स्थानीय उत्पादन बिक्री संजाल’ मार्फत सूचना गर्दा बजारिकरणमा सहयोग पुग्छ , साथै किसानबाट सिधै ग्राहकको हातमा बस्तु जाने हुँदा विचौलियाको अन्त्य हुने र किसानले उचित मूल्य प्राप्त गर्ने छन्’ अध्यक्ष ओझाले भन्नुभयो ।
    स्थानीय उत्पादनलाई छिटो बिक्री गरि बजारमा लैजानका लागि समेत यसले सहयोग गर्ने बुझेर यस्तो कार्य गरेको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो । किसानले उत्पादन गरेका साना साना बस्तुले समेत बजार प्राप्त गर्ने हुँदा किसानका लागि समेत लाभदायिक हुने अपेक्षा पालिकाले लिएको उहाँले बताउनुभयो ।

    पालिकामा उत्पादन भएका बस्तुलाई पालिका बाहिरको बजारसम्म लैजान यसले सहयोग पुग्ने र बजारिकरण राम्रो हुँदै गए उत्पादन समेत बढ्ने र आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष ओझाले बताउनुभयो ।

    गाउँपालिकाले निर्माण गरेको स्थानीय उत्पादन वित्रिल संजालमा सूचना प्रकाशनका लागि किसानले आफ्नो बिक्री गर्न चाहेको बस्तुको विवरण, नम्बर र ठेगाना सहितको जानकारी पालिकालाई गराउने र पालिकाले सामाजिक संजालमा राख्ने गरेको पालिका अध्यक्ष सचिवालय प्रमुख मनोज कोइरालाले बताउनुभयो ।
    सूचनाहरू सचिवालय, कृषि विकास शाखा , पशुपन्छि विकास शाखामा फोन गरि टिपाउन सकिने र टिपाएका सूचनाहरू क्रमश प्रकाशन गर्दै जाने गरेको कोइरालाले बताउनुभयो ।