१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

तरकारीमा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्न जरुरी छ : कृषिमन्त्री रामनाथ अधिकारी 

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १२५

  • निराज रानाभाट, काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताए । राजधानी काठमाडौंको बल्खुस्थित कृषि तथा तरकारी बजारको आज १३ औँ वार्षिकउत्सव समारोहमा बोल्दै मन्त्री अधिकारीले किसानहरुको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरू पूरा हुन नसक्ने बताएका हुन् । आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानहरुलाई मलको सहज व्यवस्था, दूध किसानहरुको बक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै पनि समस्या किसानहरुले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । 

    तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको समेत बताए । विषादी न्यूनीकरणका लागि र मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानहरुलाई अधिकारीले आग्रह गरेका छन् । किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र किसानहरुका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागि परेको अधिकारीले किसानहरुको उत्पादन सहरसम्म ल्याइ बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरूको आवश्यकता रहेको अधिकारीलको भनाइ छ । 

    त्यसैगरी, मन्त्री अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन् । अधिकारीले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए । साथै अधिकारीले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नु पर्नेमा जोड दिँदै अधिकारीले तल्लो तहका किसानहरुको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे । यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर -१४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियका कारण वास्तविक किसानहरुले आफ्ना उत्पादनको मूल्य नपाएका बताए । त्यस्तै, कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानहरुलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नु पर्नेमा जोड दिए ।