१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

आज महाअष्टमी र महानवमी पर्व 

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १३५

  • असोज २५, कावासोती,

    असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन परेको छ । 
    महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।


    महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
    आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । आज विभिन्न दुर्गा मन्दिर लगायतका शक्तिपीठ र देवी मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।


    आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजा गर्ने गरिन्छ । आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि चढाई पूजा गर्ने समेत चलन छ ।
    आजै महानवमी पर्व पनि परेको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ । 


    घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत विजयादशमीको दिन अर्थात भोलि बिहान ८ बजेर ३३ मिनेटमा रहेको समितिले जनाएको छ ।
    त्यस्तै, यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।