प्रिय धन , ९ कार्तिक २०८१ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामाजिक परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद महाशाखा मध्यविन्दुको आयोजनामा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्षहरु र प्रधानाध्यापकहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले अबको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड़ दिनुभयो । "सिद्दान्तका कुरा होइन अबको शिक्षा व्यवहारिक हुनुपर्छ , अहिलेसम्मको काम देखाउनका लागि मात्रै छ, अब समाजले खोजेको शिक्षा हुनुपर्छ " अधिकारीले भन्नुभयो । त्यस्तै मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयमा योग र स्वास्थ्य फोकल शिक्षक छनौट गर्ने योजनामा आफुहरु रहेको भन्दै तत्काल त्यसका लागि छलफल सुरु गरेको पनि बताउनुभयो । बालबालिकाको भविष्य घरबाटै सुरु हुने हुँदा बाबुआमाले बोलेका व्यवहार बच्चाले सिकाईबिना नै सिक्ने हुँदा स्वयं अभिभावक सभ्य हुनुपर्ने पनि नगर प्रमुखले औल्याउनुभयो ।
यस्तै शिक्षा महाशाखाका प्रमुख उपसचिव पदमराज आचार्यले सामजिक परीक्षण पनि विद्यालय सुधारको मुख्य आधार भएको भन्दै २०७८ को सामाजिक परीक्षण सम्बन्धी मापदण्ड अनुसार नै अगाडी बढ़नु पर्ने बताउनुभयो । साथै आचार्यले अब मध्यविन्दु नगरपालिकाभित्रका कम विद्यार्थी संख्या भएका विद्यालय समायोजन गर्नुपर्ने भएकाले मानसिक रुपमा तैयार हुनुपर्ने पनि बताउनुभयो ।
यसैगरी नेपालकै पहिलो "हाम्रो खुसी पाठ्यक्रम" कार्यक्रमका संयोजक लक्ष्मी पाण्डेले नीतिगत कुरा र शैक्षिक उपलब्धिसँगै खुसी कार्यक्रमका लागि शिक्षा महाशाखा, खुसी कार्यक्रम र अभिभावक सबै मिलेर साझा एजेण्डा बनाएर अगाडी जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्षहरु , प्रधानाध्यापकहरु , शिक्षक प्रतिनिधिहरु , स्रोत शिक्षक कलामुद्दीन अन्सारी लगायतकाको सहभागिता रहेको थियो ।
प्राविधिक सत्रमा समाजिक परीक्षण सम्बन्धी प्रधानाध्यापक तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुबाट उठेका सवालको शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले जवाफ दिनुभएको थियो ।
शिक्षा सहायक गीता पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा शिक्षा तुवा तथा खेलकुद महाशाखाका प्रमुख पदमराज आचार्यको अध्यक्षता तथा मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस