१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

कावासोती एकद्वारा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकको दुर्घटना बिमा

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या २६५

  •  कावासोती , कात्र्तिक १३ ।

    नवलपुर ।  नवलपुरको कावासोती नगरपालिका वडा नम्बर एकले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकको दुर्घटना बिमा गरेको छ । आफ्नो वडा भित्र रहेका तीनवटा सामुदायिक विद्यालय र शिक्षकको रु. एक लाख बराबरको दुर्घटना बिमा गरिएको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।
    वडाले कावासोती एकमा रहेको जनकल्याण माध्यामिक विद्यालयका रिठ्ठेपानीका चार सय २९ विद्यार्थी र २४ जना शिक्षक, हात्तीखोर रहेको महाराजा आधारभूत विद्यालयका एक सय ४९ विद्यार्थी र १६ शिक्षक, र जलदेवी प्राविका विद्यार्थी तथा शिक्षक गरि १६ जनाको दुर्घटना बिमा गरिएको हो ।

    विद्यालयका विद्यार्थी र शिक्षकको दुर्घटना बिमा सम्झौता आज विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाल माइक्रो इन्स्युरेन्स मार्फत सबै विद्यार्थी र शिक्षकको दुर्घटना बिमा भएको छ । विद्यालय होस या घरमा कहीँ कतै कथम् कदाचित दुर्घटना भइहाले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुर्घटना बिमा गरिएको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो । हामीले कुनै पनि अप्रिय घटना वा दुर्घटना नहोस् भन्छौ, तर कहिलेकाँही दुर्घटना भएर चोटपटक लागि हालेमा त्यस्तो अवस्थामा उपचारमा राहत मिलोस् भन्ने हाम्रो चाहना हो’ वडा अध्यक्ष मियाले भन्नुभयो ।

    वडा भित्र रहेका कतिपय विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको हुँदा केही परिहाले धेरै खर्च लाग्ने र उपचार गराउन समस्या आउने हुन सक्ने भएकाले त्यस्तो अवस्थामा दुर्घटना बिमाले उपचारमा सहजता दिलाउने उहाँले बताउनुभयो ।बिमा सम्झौता पत्र हस्तान्तरण गर्दै उहाँले शिक्षाको विकासमा वडा सधैँ तत्पर रहेको समेत बताउनुभयो । ‘बाटो, नाला बनाउन पैसा नपुगे पछि पछि बनाउला , तर शिक्षाबाट कोही बञ्चित हुनु भएन , शिक्षानै सबै थोक हो’ अध्यक्ष मियाले भन्नुभयो ‘ आर्थिक अभावकै कारण कोही बालबालिका विद्यालय बाहिर रहेको भए वडाले शिक्षा प्रदान गर्ने जिम्मा लिन्छ।’

    उहाँले सहज र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने विषय आत्मसाथ गरि गत वर्ष बस खरिद गरेर विद्यालयलाई दिएको र यो वर्ष दुर्घटना बिमा गरेको बताउनुभयो । आगामी वर्ष सामुदायिक विद्यालयमा कम्तिमा पाँच कक्षा सम्म निशुल्क शिक्षा प्रदान गर्ने गरि आफूहरू यसको लागि तथ्याङ्क सङ्कलन र अध्ययनमा लागेको वडा अध्यक्ष मियाले बताउनुभयो ।

    कार्यक्रममा बोल्ने वक्ताहरू सल्लाहकार समिति संयोजक अमरसिंह विश्वकर्मा, विद्यालय व्यवस्थापन समिति सदस्य यम बहादुर विश्वकर्मा, चन्द्र कुमार सुनार लगायतले वडा कार्यालयले शिक्षाको क्षेत्रमा सकारात्मक कार्यहरू गरेकोमा वडा कार्यालय परिवारलाई धन्यवाद दिएका थिए । विद्यालयका प्रधानाध्यापक गिरिराज गिरीले स्वागत मन्तव्य राख्ने क्रममा वडा कार्यालयले नियमित रुपमा शिक्षा क्षेत्रको विकासमा रचनात्मक रुपमा कामहरु गर्दै गएको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्सका शाखा प्रमुख सुनिता पोखे्रलले दुर्घटना बिमाले समेट्ने विषय र उपचार खर्च भरपाईका विषयमा जानकारी दिनुभएको थियो ।
    वडा सदस्य ओम थापा, रेखा सुनार, अभिभावक, शिक्षक,विद्यार्थी सहितका व्यक्तिहरुको उपस्थितीमा भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक सुदिप विश्वकर्माले गर्नुभएको थियो ।  नवलपुर प्रेस