महेश्वर श्रेष्ठ ,नेपाली मौलिकताले भरिएको र पांच दिनसम्म मनाइने प्रकृति र आत्मपूजाको अनुपम चाड तिहार पर्व यस वर्ष आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज कागलाई पूजा गरी मिठो मिठो खानेकुरा ख्वाएर काग तिहार मनाइन्छ ।
हिन्दु धर्मको मान्यतामा कागलाई यमराजको सन्देश वाहक मानिन्छ । तर नेपाली समाजको मान्यतामा काग सन्देश वाहक मात्र हो । किनकि काग यमराजको सन्देश वाहक हुंदो हो त त्यसले मृत्युको सन्देश मात्र ल्याउनु पर्थ्यो । तर घर नजिक आएर कोहि काग लगातार काग करायो भने हामी कोहि पाहुना आउन लागेछ भनेर विश्वास गर्छौं र आउंदै गरेको पाहुना कुपात्र नहोस्, सुपात्र होस्, उसले भन्ने र गर्ने काम असल होस् भनेर कागलाई "शुभ बोल, शुभ बोल" भन्छौं ।
काग वन जंगलमा भन्दा पनि मानव वस्ती नजिक बस्न रुचाउने चरो हो । यसले हामीले फालेको सडे गलेका खानेकुरा खाएर वातावरण सफा राख्न सघाऊ पुर्याइरहेको हुन्छ । भूकम्प आदि प्राकृतिक प्रकोप आउन लाग्दा पनि कागको बथान ठुलो स्वरमा कां कां कराउंदै आकाशमा मडारेर विपत्तिको पूर्व संकेत दिने गर्छ । यी नै गुणले गर्दा हाम्रा पुर्खाले कागलाई वर्षको एक दिन पूजा गरी मिठो मसिनो ख्वाएर सम्मान गर्ने परम्परा बसालेको हुनु पर्छ ।
काग तिहार हामी नेपालीको यस कारण मौलिक चाड हो किनकि हिन्दु धर्मको उदगम थलो हिन्दुस्तानका हिन्दुहरुले कागलाई यमदूत माने तापनि उनीहरु हामीले जस्तै कागलाई पूजा गरी मिठो मिठो खानेकुरा ख्वाएर काग तिहार मनाउंदैनन् । महाभारत कथामा त कागलाई काकासुर भनी राक्षसको रुपमा चित्रण गरिएको छ । हामीले काग तिहार मनाइरहेको बेला उनीहरु नयां भाडाकुंडा किनेर घर भित्र्याउने कुनै धार्मिक, सांस्कृतिक, सामाजिक, वातावरणीय प्रसंग बिनाको "धनतेरस" चाड मनाइरहेका हुन्छन् । आजै आयुर्वेद विज्ञानका पिता धन्वन्तरीको उत्पत्ति भएको दिन मानिन्छ र धनवन्तरी जयन्ती मनाउने गरिन्छ । तर धनवन्तरी जयन्ती तिहार पर्वको अंग होइन । धनवन्तरी जयन्ती र काग तिहार एकै दिन पर्नु संयोग मात्र हो ।
यो पृथ्वी सबै चराचर प्राणीको वास स्थल हो । वातावरण स्वच्छ राख्न सघाउने मानव समाजको साथी कागलाई माया गरौं, कागको अस्तित्व जोगाएर इकोलोजिकल सन्तुलन कायम गरौं । सबैमा काग तिहारको शुभकामना ।
प्रतिक्रिया दिनुहोस