डेढगाउँ, कार्तीक २३
समर रानाभाट
श्री डेढगाउँ माध्यमिक विद्यालय, बौदीकाली – २, नवलपरासी (पूर्व) मा एस एल सी ब्याच२०७० को विद्यार्थी समुहले एक लाख बराबरको विभिन्न सामग्री हस्तानतरण गरेका छन् । विद्यालयबाट एस एल सी २०७० मा उत्तीर्ण भइ हाल विभिन्न पेशा व्यवसायमा आवद्ध भू.पू. विद्यार्थीहरुको समुहले आज एक कार्यक्रम विच सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थान समिति अध्यक्ष श्री वाल प्रसाद ठाडाको अध्यक्षतामा र बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयबाट एस एल सी २०७० मा सहभागी जम्मा ३० जना विद्यार्थीहरुले सहयोग गरेको जानकारी गराइएको थियो । दशैं तथा तिहार - विदा सन्दर्भमा हाल घरमा आउनु भएका शम्भव भए सम्मका सहयोगी भू.पू. विद्यार्थीहरु कार्यक्रममा उपस्थित हुनु हुन्थ्यो ।
कार्यक्रममा बौदीकाली गाउँपालिका गाउँ शिक्षा समिति सदस्य श्री होम नाथ भट्टराई, बौदीकाली गाउँपालिका वडा नं. २ सदस्य श्री बुद्धिराज श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष श्री यादव प्रसाद ओझा, The Club Hundred अध्यक्ष श्री दण्डपाणी कोइराला, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ पदाधिकारी, शिक्षक – कर्मचारी, विद्यार्थीहरुको उपस्थिती थियो ।
सहयोगी भू.पू. विद्यार्थीहरुको तर्फबाट शेखर श्रेष्ठ, पबिन सुनार, सृष्टि ओझा र प्रदिप खत्रीले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै वहाँहरुले आफुले अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाइ बैनीहरुको लागि सहयोग पुग्ने गरी यो सहयोग गर्न पाउदा आफुहरू अत्यन्तै खुसी भएको बताउनु भयो र आगामी दिनमा पनि सहयोगका काममा प्रयासरत रहने साथै विभिन्न माध्यमबाट विद्यालयमा जोडिने बताउनु भयो ।
सामग्रीको रुपमा पुस्तक २५ थान, एट्लस २ थान, मादल १ थान, साउण्ड सिष्टम १ थान (एम्प्लिफायर, स्पिकर, युनिट, हर्न, माइक्रोफोन), नोटिस बोर्ड १ थान, वाटर डिस्पेन्सर ४ थान र पानी जार ४ थान प्राप्त भएको छ ।
कार्यक्रममा विद्यालयको तर्फबाट विद्यालय प्रधानाध्यापक गंगा विश्वकर्मा र व्यवस्थापन समिति अध्यक्ष वाल प्रसाद ठाडाले सहयोगी भू. पू. विद्यार्थीहरुको समुहलाई धन्यवाद प्रकट गर्दै आफुहरुले अत्यन्तै गर्व महशुस गरेको र आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखिएको साथै विद्यालयका भू.पू. विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सिप र दक्षता पनि विद्यालयमा बाड्न र सहयोग गर्न अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले अहिले बौदीकाली गाउँपालिका शिक्षा सुधार र रुपान्तरणमा लागेको र यो अभियानमा सबैलाई आमन्त्रण गर्दै आज यो सहयोग को काम गर्नुभएकोमा एस एल सी ब्याच २०७० को समुहलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । आफुले पढेको विद्यालयमा फर्केर फेरी केही राम्रो गरौ भनेर गरिने यस्ता सहयोगका कार्यहरु कमै हुने हाम्रो परिप्रेक्ष्यमा विद्यार्थीहरुको समुहले अत्यन्तै उदाहरणीय कार्य गरेको र यो हामी सबै र आगामी पुस्ताको लागी पनि ठुलो सिकाई भएको बताउनु भयो ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक जीवन पाण्डेले गर्नु भएको थियो भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस