तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका १ पुट्टारमा आयोजित कृषि प्रदर्शनी मेलामा श्रेष्ठ कृषि तथा पशु फार्मकी खेम कुमारी श्रेष्ठ प्रथम भएकी छिन् ।
विहिबार सहमति संस्थाद्धारा सञ्चालित एकीकृत स्वास्थ्य र आया बृद्धि कार्यक्रम मार्फत नेपालका ग्रामीण समुदायहरुको सशक्तिकरण (इआरसिएन)परियोजनाको आयोजनामा कालीगण्डकी कृषि उपज संकलन केन्द्र, पुट्टारमा सम्पन्न मेलामा मिलिजुली कृषक समूह, पुट्टारकी इश्वरीदेवी अर्याल द्धितीय भएकी छिन् । खेम कुमारी भुँईकटहर र इश्वरीदेवी पिँडालु कृषि उपजबाट पुरस्कृत भएका हुन् ।घिरिङ गाउँपालिका अन्तरगत कृषि शाखा संयोजक रवि रामदामको संयोजकत्वमा बनेको ३ सदस्सीय मुल्यांकन समितिको मुल्यांकनको आधारमा सक्षम कृषक समूह, पुट्टारकी शर्मिला खनाल तृतीय भएकी छिन् । उनले काँक्रो प्रदर्शनीमा राखेकी थिइन् । उत्कृष्ट कृषकलाई ६ हजार, ४ हजार र २ हजार बराबरको कृषि सामग्री टनेल, मल्चिङ प्लाष्टिक र स्प्रे पम्प प्रदान गरिएको छ ।४० कृषक समूह सहभागी मेलामा अन्य सहभागीलाई एक-एक थान हजारी वितरण गरिएको छ । कृषकहरुलाई घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, वडाध्यक्ष रविचन्द्र घोरासेनी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले संयुक्त रुपमा कृषि सामग्री वितरण गरेका थिए ।
प्रदर्शनीमा कालीगण्डकी कृषि उपज संकलन केन्द्र मातहतमा सञ्चालनका लागि सहमति संस्थाले कृषि सामग्री ढुवानी साधन (महिन्द्रा गाडी) प्रदान गरेको छ । केन्द्रको दीगोपनाका लागि संस्थाले पालिकालाई हस्तान्तरण गरेको ढुवानी साधन पालिकाले कालीगण्डकी कृषि उपज संकलन केन्द्रलाई प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थापाले प्रदर्शनीमा सहभागी कृषकलाई उत्पादनमा जोड दिन आग्रह गरे । साथै, उनले कालीगण्डकी कृषि उपज संकलन केन्द्रको दीगो सञ्चालनका लागि कृषक आफैँले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, सहमति संस्थाका अध्यक्ष सुवेदीले घिरिङ १ मा कृषिमा उत्पादन बढवा दिन र कृषकको आयआर्जनमा सुधार ल्याउनका लागि समुदायमा स्वास्थ्य तथा आर्यआर्जनमा आधारित (इआरसिएन)परियोजना प्रभावकारी देखिएको दाबी गरे ।
सोही कार्यक्रममा कालीगण्डकी कृषि उपज संकलन केन्दले केन्द्र सञ्चालन र कृषि उपज बजारीकरणका लागि कालीगण्डकी कृषि सहकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।कालीगण्डकी कृषि उपज संकलन केन्द्रका अध्यक्ष दान बहादुर शाहीको अध्यक्षमा भएको कृषि मेला प्रदर्शनी तथा ढुवानी साधन हस्तान्तरण कार्यक्रम केन्द्रका सचिव राम प्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए ।शाभार : सानदार अनलाइनबाट
प्रतिक्रिया दिनुहोस