ज्ञानु पंगेननी ,नवलपुर । गर्भवती महिला र सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्थाबाट आइरन चक्की निशुल्क प्राप्त हुँदै आएको छ । तर क्याल्सियम चक्की भने खरीद गर्नुपर्ने अवस्था छ । अब भने, नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेका गर्भवती महिला र सुत्केरी आमाहरुले क्याल्सियम चक्की किन्न नपर्ने भएको छ ।
मध्यविन्दु नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरुलाइ क्याल्सियम चक्की नि शुल्क वितरण कार्य बुधबारबाट सुरु गरेको छ । एक कार्यक्रमका बीच मध्यविन्दु नगर अस्पतालमा बुधबार क्याल्सियम चक्की नि शुल्क वितरण कार्यको सुरुआत गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख जायेश्वर भुसालको अध्यक्षता तथा मध्यविन्दु नगरपालिका उप प्रमुख पूर्ण कुमारी चौधरीको प्रमुख आतिथ्यतामा क्याल्सियम चक्की नि शुल्क वितरण कार्यको सुरुआत भएको हो ।
उपप्रमुख चौधरीले पालिकामा रहेका विपन्न समुदायका महिलाहरु यस कार्यक्रमबाट लाभान्वित हुने बताउनुभयो । ‘हामीले लक्षित वर्ग अन्तरगत महिलालाई लक्षित गर्दै यो कार्यक्रम नगरको निति कार्यक्रममा नै राखेका थियौ । जसलाई आजबाट सुरुआत गरेका छौँ । यसबाट क्याल्सियम चक्की किनेर खान नसक्ने विपन्न परिवारका महिलाहरुलाई टेवापुग्ने विश्वास लिएका छौ ।’ उपप्रमुख चौधरीले भन्नुभयो – यस कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य राम्रो हुने, क्याल्सियमको कमीबाट हुने विभिन्न जटिलताहरुबाट आमा बच्चा जोगिन सक्नुहुनेछ । उपप्रमुख चौधरीका अनुसार यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच लाख ७५ हजार रुपैँया विनियोजन गरिएको छ । गर्भवती महिला र सुत्केरी आमाहरुको संख्या थपघट हुने भएकाले, आवश्यकता अनुसार बजेट व्यवस्थापन गरिने चौधरीले बताउनुभयो । अहिलेको तथ्याक अनुसार मध्यविन्दु नगरपालिकामा ८ सय ११ जना गर्भवती र पाँच सय ५७ जना सुत्केरी आमाहरु रहेको स्वास्थ्य शाखा प्रमुख जायेश्वर भुसालले जानकारी दिनुभयो । यो संख्या थपखट भइरहने हुँदा त्यसै अनुसार यस कार्यक्रमका लागि क्याल्सियम चक्की खरिद गरिने भुसालले बताउनुभयो । स्वास्थ्य शाखाको तथ्याक अनुसार पालिकामा ४० प्रतिशत महिलाहरुले क्याल्सियम खरीद गर्न नसक्ने अवस्थाका छन् भने, ६० प्रतिशत महिलाहरु खरीद गरेर खान सक्ने छन् । तर यस कार्यक्रबाट विपन्न परिवारका महिलाहरु बढी लाभान्वित हुने भुसालले बताउनुभएको छ । स्वास्थ्य संस्थाले क्याल्सियम खान सिफारिस गरेका महिलाहरुले समेत आर्थिक अवस्थाका कारणले नखाइ बसेको अवस्था रहेकोमा यस कार्यक्रमबाट त्यस्ता महिलाहरु लाभान्वित हुने भुसालले बताउनुभयो । आमा र बच्चाको स्वास्थ्यको ख्याल गर्दै यो कार्यक्रम पालिकाले अगि बढाएको उहाँको भनाई छ । पालिकाको स्वास्थ्य शाखा अन्तरगत रहेका १६ वटा स्वास्थ्य संस्थाहरुबाट निशुल्क रुपमा क्याल्सियम चक्की वितरण हुने भुसालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस