देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा बुधबार गैंडाकोट फुटबल क्लब विजयी भएको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा गैंडाकोट फुटबल क्लबका विरुद्ध देवचुली दलित युवा समाजबिच बुधबार भएको खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको हो ।
गैंडाकोटले देवचुली दलितलाई २-० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा गैंडाकोट फुटबल क्लबका अजित लामा र रनजन पुनले गोल गरेका थिए । बुधबारको खेलमा गैंडाकोट फुटबल क्लबका रोशन राना म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा बिहीबार योङ्ग ब्वाइज चितवनका विरुद्ध रामपुर रड्सका बिच खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।
प्रतिक्रिया दिनुहोस