देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा गैंडाकोट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा गैंडाकोट फुटबल क्लबका विरुद्ध वातासिनो योङ स्टार क्लबबिच आइतबार भएको क्वाटर फाइनल खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको हो ।
गैंडाकोट फुटबल क्लबले वातासिनो योङ स्टार क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १/१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा गैंडाकोट फुटबल क्लबका रन्जन पुनले गोल गरेका थिए भने वातासिनो योङ स्टार क्लबबाट देव गुरुङले गोल गरेका थिए । आइतबारको खेलमा गैंडाकोट फुटबल क्लबका म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा सोमबार कावासोती भेट्रान्स र देवचुली भेट्रान्सबीच मैत्रीपुर्ण खेल हुने र मंगलबार अभिषेक चर्च रजहरका विरुद्ध सेन्टर कलेज अठाइस बिगाहाका बिच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।
प्रतिक्रिया दिनुहोस