१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

कावासोती १२ मा प्लाष्टिक रहित झोला बनाउने तालिम सम्पन्न

  • समर रानाभाट
  • ३ हप्ता अघि
  • पाठक संख्या १११

  • देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा प्लाष्टिक रहित झोला बनाउने तालिम सम्पन्न गरिएको छ । पिठौली महिला तथा ऋण सहकारी संस्थाको आयोजना तथा कावासोती १२ को सहयोगमा मंसिर १६ गतेदेखि २१ गतेसम्म वडा कार्यालयको सभाहलमा तालिम संचालन गरिएको हो ।

    पिठौली महिला तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ति महतोको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, कावासोती ११ का वडा अध्यक्ष शारडा प्रसाद अधिकारी, कावासोती १३ का वडा अध्यक्ष लालबहादुर गुरुङ, वडा सदस्यहरु, संस्थाका सल्लाहकारहरु लगायत तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।

    तालिम समापनमा बोल्दै प्रमुख अतिथि पौडेलले वडाले प्लाष्टिक विस्थापनका लागि सहकारीसँग मिलेर झोला बनाउने कार्य उत्कृष्ट भएको र प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कावासोती नगरपालिकामा प्लाष्टिकरहित अभियानका लागि तालिममा सहभागीहरुबाट अन्य वडाबासीहरुलाई आफुले सिकेको सीपलाई सिकाउनुपर्ने उहाँले बताउनुभयो । अघिल्लो वर्ष पनि वडाले झोला निर्माण गर्ने तालिम प्रदान गरेको र कार्यक्रम निकै प्रभावकारी पाएको उहाँले बताउनुभयो । तालिममा सहभागिबाट निर्माण गरिएको झोला प्रत्येक वडाबासीको घर घरमा पुर्‍याउने गरि तालिम प्रदान गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले बताउनुभयो । प्लाष्टिक न्यूनीकरणका लागि वडाले यस वर्षको योजना अन्तरगत विनियोजन गरेको बजेटबाट पिठौली महिला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा तालिम संचालन गरिएको उहाँले बताउनुभयो ।

    कावासोती १२ का विभिन्न टोलबाट सहभागी ३० जना महिलाहरुलाई झोला निर्माण गर्ने तालिम दिइएको हो । तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान समेत गरिएको छ । तालिम समापन सत्रमा सहकारीका उपाध्यक्ष पार्वती भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।