देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबले जितेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा देवचुली नगर रंगशालामा मंसिर ७ गतेसम्म संचालित प्रतियोगितामा गैंडाकोट फुटबल क्लब र अभिषेक चर्च रजहरबीच भएको फाइनल खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको हो ।
गैंडाकोट फुटबल क्लबले अभिषेक चर्च रजहरलाई १-० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । गैंडाकोट फुटबल क्लबका अजित लामाले गोल गर्दै गैंडाकोटलाई विजयी गराएका थिए । फाइनल खेलमा गैंडाकोट फुटबल क्लबका राम वजी म्यान अफ दि म्याच भएका थिए ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता गैंडाकोट फुटबल क्लबले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता अभिषेक चर्च रजहरले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिएका सेन्टर कलेज २८ बिगाहा र योङ ब्वाइज चितवनले २५/२५ हजार प्राप्त गरेका छन् ।
त्यसै गरि गैंडाकोट फुटबल क्लबका पदम भट्टराई उत्कृष्ट खेलाडी, अभिषेक चर्च रजहरका अनुप राना सर्वोकृष्ट गोलरक्षक, अभिषेक चर्च रजहरका सुजित बुढाथोकी सर्वाधिक गोलकर्ता भएका थिए । उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद ५/५ हजार रुपैयाँँ पुरस्कार प्राप्त गरेका छन् ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको थियो । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको थियो।
प्रतिक्रिया दिनुहोस