१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

मध्यविन्दुमा गैंडा प्रवेश , स्थानीय आतंकित । 

  • समर रानाभाट
  • ३ हप्ता अघि
  • पाठक संख्या ५३

  • प्रिय धन, चोरमारा ।  मंसिर २०८१ ,
    पूर्वी नवलपरासीको मध्यविन्दु १३ को गिरुवारी खोलामा गैंडा लुकेको छ । मध्यविन्दु १३ मैनाघाटको पक्की पुल नजिक रहेको कांसघारीमा गैंडा लुकेको वडा अध्यक्ष अर्जुन प्रसाद पंगेनीले जानकारी दिनुभयो । 
    आज बिहान भैंसी चराउन गएका केहि पशुपालक कृषकले आफ्नो पाड़ा, भैंसीतिर गैंडा आएको देखे पछि वडा अध्यक्ष पंगेनीलाई खबर गरेका थिए । मानिसको एकैछिनमा होहल्ला सुनेपछि गैंडा गिरुवाऱी खोला हुँदै कोलियातर्फ भागेको र पछि पुन: सोही स्थानमा बस्न गएको मध्यविन्दु १३ का वडा अध्यक्ष अर्जुन प्रसाद पंगेनीले बताउनुभयो । तम्सरिया प्रहरी चौकी चोरमारा , शसस्त्र प्रहरी बल बेस क्याम्प चोरमारा,  मैनाघाट युवा विकास मंच तथा स्थानीयले गाडी, मोटरसाईकल  लगायतका आवाज़ प्रयोग गरी गैंडालाई भगाउन खोजे पनि ३ पटकसम्म अलि पर जाने र पुन: फर्केर आउने गरेको वडा अध्यक्ष पंगेनीले बताउनुभयो । 
    आसपासका सबै जोखिमयुक्त बस्तीमा गैंडा प्रवेश गरेको जानकारी गराईसकेकाले थप मानवीय क्षति नहुनेमा आशावादी रहेको पनि वडाअध्यक्ष पंगेनीले बताउनुभयो । 
    सोमबार बिहान देखा परेको एकसिंगे गैंडाले रातभरमा स्थान परिवर्तन नगरे मंगलबार चितवन राष्ट्रिय निकुन्जका कर्मचारी बोलाएर बिकल्प खोज्ने वडा अध्यक्षको भनाइ छ । 
    सो स्थानमा गैंडा हेर्नेको घुईंचो समेत लागेको थियो । राति सम्म पनि गैंडा नभागेपछि स्थानीय आआफ्नो घरतिर लागेका छन् । 
    यसरी पटक पटक स्थानीयले हल्ला गरेर भगाउने प्रयास गर्दा पनि गैंडाले स्थान परिवर्तन गर्न नखोजेपछि स्थानीय भने त्रसित भएका छन् । मध्यविन्दु ९ बसन्तपुरका युवा तेजराम सापकोटाले गैंडा बस्तीमा प्रवेश गर्नु खतराको संकेत भएको आशंका गर्नुभएको छ । विहानको समयमा हिंड़ने , अतिरिक्त कक्षा पढ़ने विद्यार्थी , कलेज , क्याम्पसका विद्यार्थी , शारीरिक कसरत गर्ने मानिस , काम गर्ने किसानहरुलाई अब बिहानको समयमा काम गर्न डर थपिएको सापकोटाको भनाइ छ ।