१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

नेतृत्व कर्ताहरुको भनाई र गराईमा एकरुपता नहुँदा समाजबाट हिंसा अन्त्य हुन सकेन : नवलपुरका महिला

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ७१


  • दिपेन्द्र रेग्मी, मंसिर ,कावासोती,

    समाजका नेतृत्व कर्ताहरुको भनाई र गराईमा एकरुपता नहुँदा समाजबाट हिंसा अन्त्य हुन नसेकेको नवलपुरका महिलाहरुले बताएका छन् । 
    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्ने महिलाहरुले नेतृत्वकर्ताहरुमै जकडिएर रहेको पुरातन रुढिवादि अन्ध परम्परा, सोँच र व्यवहारले हिंसा अन्त्य हुन नसकेको बताएका हुन् ।
    अधिकांस महिलाहरुले सम्बोधनका क्रममा सबैले हिंसा अन्त्यकालागि भाषणवाजिमा मात्रै भन्दा पनि व्यवहारतहः उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ गण्डकी प्रदेश सदस्य दुर्गा रिजालले अहिलेको समाजमा महिलाहरुमात्र नभई पुरुषहरुपनि हिंसामा पर्नेगरेको भन्दै हिंसा अन्त्यकालागि आँफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।
    हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यकालागि ऐक्यबद्धता भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजना विषयक अन्तरसंवाद कार्यक्रम नवलपुरको कावासोतीमा रहेको स्वस्तिक बैंक्युटमा भएको हो ।
    जिल्ला समन्वय समिति नवलपुर र सामाजिक विकास कार्यालय नवलपुरको संयुक्त आयोजना एवं विजय विकास स्रोत केन्द्रको सहयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख बाबुराम विश्वकर्माले यस्ता कार्यक्रमहरु वास्तविक हिंसामा परेकाहरुसम्म पुग्नै नसकेको बताउनुभयो ।  
    जिससले नै आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विश्वकर्माले पार्टि प्यालेशमा भन्दा गिटि कुटिरहेका महिलाहरुसम्म पुगेर यस्तो कार्यक्रम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
    यसैगरी कार्यक्रममा अधिवक्ता राधा उपाध्याय (सिग्देल)ले लंैगिक समानताका लागि भएका कानुनी व्यवस्थाका बारेमा चर्चा गर्दै लैगिक हिंसामा परेकाको न्यायकालागि कानुनको प्रयाप्तता रहेपनि नेपाली समुदायमा रहेका विभिन्न खाले संस्कार संस्कृति, परम्परागत र पितृसत्तात्मक सोँच आदिका कारण कानुन कार्यान्वयनको पाटो फितलो हुँदा पीडितले सहज न्याय पाउन नसकिरहेको बताउनुभएको छ ।
    त्यस्तै कार्यक्रममा विजयविकास श्रोत केन्द्र(भिडिआरसि)को सामाजिक नर्मदा पाण्डेले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजना प्रस्तुत गर्दै नेपालमा भएको शसस्त्र द्धन्दका घटनामा महिलाहरुमाथि भएको यौनजन्य हिंसा, बलात्कार जस्ता घटनाको यकिन तथ्याङ्क नै नरहेको बताउनुभएको छ । 
    सन् २०११ को तथ्याङ्क अनुसार नेपालमा ९ हजार एकल महिलाहरु रहेको उल्लेख गर्दै उहाँले द्धन्दकालिन समयका घटनामा पिँडित बनेका महिलाहरुको खोजि गरि उनिहरुको न्यायकालागि समेत भिडिआरसिले पहल थालेको जानकारी दिनुभयो ।
    कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 
    जिसस उपप्रमुख सकुन्तला लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला समन्वय अधिकारी जितेन्द्र जंग के.सी.ले सहजिकरण गर्नुभएको हो ।