१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

तनहुँमा पुस ९ गतेदेखि १९ गतेसम्म ‘ प्रथम भानु नगर महोत्सव ’ हुने, महोत्सवको तयारी तिब्र

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ११०

  • निराज रानाभाट, तनहुँ । तनहुँको भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भानु नगरपालिका -१, भन्सारमा पुस ९ गतेदेखि १९ गतेसम्म ‘ प्रथम भानु नगर महोत्सव ’ हुने भएको छ, भने महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । कृषि, पर्यटन, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्वेश्यले महोत्सवको तयारी गरिएको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार १ लाख बढी पर्यटकहरुको आवागमन हुनुका साथै ६४ लाख रुपैयाँको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार महोत्सवबाट बचत भएको रकमले भानु नगर उद्योग वाणिज्य संघको निर्माणधीन भवन निर्माण कार्यमा खर्चिने योजना रहेको छ । 

    यसैगरी, महोत्सवमा औद्योगिक प्रदर्शनी तथा खरिद बिक्री, सुन्तला, मास एवं अदुवा, ताजा तरकारी बिक्री तथा प्रदर्शनी साथै खाना महोत्सव, रमाइलो मेला, चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता, आदिवासी जनजातिय भेषभूषा, झाँकी तथा संस्कृति भल्किने कार्यक्रम रहने बताइएको छ । उक्त महोत्सवमा विभिन्न खानाका स्टल, कृषि उत्पादनका बिक्री, सूचना केन्द्र, विभिन्न अटो कम्पनीका शोरुम, प्राथामिक उपचार केन्द्र, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी एवं बिक्री कक्षलगायतका १ सय २० वटा स्टल रहने छन् । यस्तै, उक्त महोत्सवले स्थानीय स्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारहरुको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगर प्रमुख आनन्द त्रिपाठीले बताए ।