दिपेन्द्र रेग्मी, पुष ४, कावासोती,
कावासोती नगरपालिकाको उपप्रमुख फुलकुमारी थनेतले वृद्धवृद्धालाई उचित सम्मान गर्न सक्नु पनि समृद्धिको एउटा पाटो भएको बताउनुभएको छ ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ ले आयोजना गरेको वृद्धवृद्धा नागरिक तथा पूर्ण अपाङ्ग सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थनेतले हरेक वर्ष वृद्धवृद्धाकोलागि यस्तै सम्मानका कार्यक्रम आयोजना गर्दै आईरहेकोमा वडाध्यक्ष सहित कार्यालय परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
उहाँले बुवा आमाले हुर्काएका भन्दा हजुरबुवा हजुर आमाले हुर्काएका सन्तान असल हुने गरेको भन्दै सम्पूर्ण असल सन्तानका जन्मदाताहरुप्रति नगरपालिकाले सदा सर्वदा सम्मान भाव प्रकट गरिराख्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कावासोती ३ को आयोजनामा वडा भित्र बसोबास गर्ने ७५ वर्ष भन्दा माथिका १२० जना वृद्धवृद्धालाई जाडोमा ओड्ने कपडा प्रदान गरेर सम्मान प्रकट गरिएको हो ।
वडा नं. ३ कार्यालय भवन परिसरमा भएको कार्यक्रममा उपस्थित हुन नसक्नुभएका वडामा रहेका १७ जना पूर्ण असक्तहरुलाई घरमै पुगेर सम्मान गरिने वडाध्यक्ष डोरमान गिरिले बताउनुभएको छ ।
कार्यक्रमको सभापति समेत रहनुभएका वडाध्यक्ष गिरिले जेष्ठ नागरिक प्रतिको उत्तरदायित्व निर्वाहको प्रयासमा सधैँ लागिरहेको उल्लेख गर्दै अझ धेरै गर्ने ईच्छ्या हुँदा हुँदै पनि सिमित बजेटका कारण सोँचेअनुरुप सहयोग गर्न नसकिएको गुनासो समेत गर्नुभयो ।
उहाँले आगामि वर्षहरुमा समेत यस कार्यक्रमलाई निरन्तरता दिने बताउँदै वडाले जेष्ठ नागरिककोलागि १ लाख सम्मको निशुल्क स्वास्थ्य विमा पनि गरेकोले कोहि छुट्नुभएको भए स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुन अनुरोध पनि गर्नुभयो ।
कावासोती नगरपालिका उपप्रमुख थनेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जेष्ठ नागरिक संस्थाका नगर अध्यक्ष रमेश पौडेल, कावासोती नगरपालिका सामाजिक शाखा प्रमुख शुसिला तिमिल्सेनाको विषेश आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा वडाका जनप्रतिनिधिहरु ऋषिराम वस्ताकोटि, नर बहादुर थापा, सावित्रि के.सि., सावित्रि रसाईलि, वसन्ति कुवँर सहित वडाका जेष्ठ नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस