१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न

  • समर रानाभाट
  • ६ दिन अघि
  • पाठक संख्या १२५

  • देवचुली । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

    प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको २७ औं साधारणसभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

    साधारणसभाको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि न्यौपानेले प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई वर्तमानका सम्भावना र चुनौतीलाई विश्लेषण गरि आगामी दिनहरुमा गर्ने कामको योजना बढाउन साधारणसभाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । भविष्यमा पानीको संकट आउन नदिनका लागि पानी संचित गर्ने गरि रिचार्ज पोखरी बनाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । प्रगतिनगर खानेपानी संस्थालाई आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

    साधारणसभामा संस्थाका अध्यक्ष खिमानन्द भुसालले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को कार्ययोजना र संस्थाको नीति तथा प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भुसालले रिजर्ववायर टंयाकीहरु मर्मत र ओभरहेड टंयाकी रङरोगन गर्ने, सिताबास टंयाकी परिसरमा १ वटा बोरिङ खन्ने, उपयुक्त स्थानमा १ ओभरहेड टंयाकी निर्माण गर्ने, वास प्लान निर्माण गर्ने, सिताबास रिजर्व टंकी परिसर जाने बाटोमा मोजाक टायल लगाउने, मुहान परिसर जाने बाटो डाडाचौतारी देखि रफिङ्ग फिल्टरसम्म ढलान बाटो निर्माण गर्ने लगायतका १८ वटा कार्ययोजना सभामा पेश गर्नुभएको थियो । त्यसै गरि सभामा कोषाध्यक्ष गुना भण्डारीद्वारा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका आन्तरिक लेखा समितिका संयोजक रत्ना भुसालले आन्तरिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सुरक्षा योजना उपसमितिका सचिव लोकनाथ अर्यालद्वारा खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    साधारण सभाका उपभोक्ताको तर्फबाट कमला भट्टराई, नारायणी प्रसाद पौडेल, पर्यवेक्षकको तर्फबाट हरिभक्त भट्टराई , लोकप्रसाद भुर्तेल, नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष डिल्लीराम कडरिया, देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती, देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेल, वडा नं १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, संस्थाका सल्लाहकार सत्यनारायण भुसाल, होमनाथ जैसी, देवचुली नगरपालिकाका प्रवक्ता एवम् देवचुली ११ का वडाध्यक्ष तिलप्रसाद काफ्ले लगायतले खानेपानी संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    साधारण सभामा सभाका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गादेवि विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव ईन्द्रमणि भुसालले गर्नुभएको थियो ।