नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले आज कावासोती ६ मा सार्वजनिक सुनुवाई गरेको छ । यस बर्षदेखि १ बर्षमा ४ पटक ४ स्थानमा सार्वजनिक सुनुवाई गर्ने निती अनुसार कावासोती नगरपालिकाले यस आर्थिक बर्षको पहिलो सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले कावासोती नगरपालिकाले गरेका काम लगायत सुशासनका सवालमा प्रश्न गरेका थिए ।
कार्यक्रममा उठेको प्रश्नको कावासोती नगरपालिकाका नगर प्रमुख विष्ण भुसाल, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै कावासोती नगर प्रमुख विष्णु भुसालले कावासोती नगरपालिका कृषि तथा तरकारी बालीमा आत्मनिर्भर हुँदै गएको बताउनुभयो । त्यसैगरी नगरप्रमुख भुसालले सामुदायिक विद्यालयहरुमा सीमित दरबन्दी रहेका कारण शिक्षा निशुल्क भनिए पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो ।
त्यसैगरी उहाँले मध्यविन्दु जिल्ला अस्पताललाई नगरपालिकाले अपनत्व ग्रहण गरी नियमित सहयोग गर्दै आएको भए पनि मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारले ५० शैया अस्पतालको मान्यता दिन ढिलाई गरेर विभेद गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल कावासोती नगरपालिकाले कृषि क्षेत्रमा कृषकहरुलाई अनुदान दिंदै आएको बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेत, कावासोती नगरपालिका वडाअध्यक्ष, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस