दिपेन्द्र रेग्मी,पुष ११, कावासोती,
कृष्ण गण्डकी सहकारी संस्था लिमिटेडले रक्तदाता परिवारकोलागि रगत आवश्यक परेमा रगतको विल बराबरको रकम संस्थाले फिर्ता गर्ने घोषणा गरेको छ ।
नवलपुरको खहरेमा बिहिबार(आज) संस्थाले आयोजना गरेको छैटौँ रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष उज्वल ओझाले रक्तदान गर्नुभएकाको परिवारका सदस्य जोकोहिलाई रगत दिनुपर्ने अवस्थामा रगतकोलागि तिर्नुपर्ने रकम सहकारीले उपलब्ध गराउने बताउनुभएको हो ।
जिल्लाको बौदीकाली गाउँपालिका र कृष्ण गण्डकी सहकारी संस्थाको संयुक्त आयोजनामा बिहिबार भएको छैटौँ रक्तदानमा ८१ जना पुरुष र २२ जना महिलागरि १ सय ३ युनिट रगत संकलन भएको थियो ।
सहकारीको स्थापना कालिन समयदेखि आयोजना गर्दै आईरहेको रक्तदान कार्यक्रममा हरेक वर्ष सय युनट भन्दा धेरै रगत संकलन गर्ने गरिएको बौँदिकालिबाट हाम्रा सहकर्मी सम्राट पाण्डेले जानकारी दिनुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी बौदीकाली र रकुवा प्राथमिक स्वास्थ्य केन्द्रको सहयोग एवं नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको प्राबिधिक सहयोगमा संचालित छैटौं रक्तदान कार्यक्रमका पालिका अध्यक्ष प्रकाश ओझाले सहकारी संचालक समिति सदस्य ऋषिराम पौडेललाई रक्त संकलनको सामाग्रि हस्तान्तरण गरेर कार्यक्रमको उद्घाट गर्नुभएको थियो ।
कार्यक्रममा छोटो सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका पालिका अध्यक्ष ओझाले सहकारीले हरेक वर्ष गर्ने रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता हुने गरेको भन्दै संस्थाले समाजमा पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनुभएको छ ।
सहकारीसंस्थाका अध्यक्ष उज्वल ओझाको अध्यक्षतामा भएको कार्यक्रममा बौँदिकालि गाउँपालिकाको उपाध्यक्ष दिलकुमारी सारु, प्रमुख प्रशासकिय अधिकृत उज्वल बहादुर बस्नेत, वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठ लगायतको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस