२० पुष २०८१ शनिबार | 04 Jan 2025 Sat

खेल क्षेत्रमा लगनशील भएर लाग्न सके सफल भइन्छ – राष्ट्रिय खेलाडी सन्दीप लामिछानेले

  • समर रानाभाट
  • ३ दिन अघि
  • पाठक संख्या ७७

  • ज्ञानु पंगेनी २०८१ पौष 

    कावासोती । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले कुनै पनि खेलमा लगनशील भएर लाग्न सकेमा सफल भइने बताउनुभएको छ ।
    नवलपुरको देवचुली नगरपालिकाले मङ्गलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका लामिछानेले आफ्नो कुरा राख्ने क्रममा जुनसुकै खेल भए पनि इमानदारी पूर्वक लगनशील र धैर्य भएर लाग्न नव प्रवेश खेलाडीहरूलाई सुझाव दिएका छन् ।
    अन्तरक्रियामा देवचुलीमा रहेका नव प्रवेश खेलाडी तथा खेल क्षेत्रमा रुचि राख्ने युवा तथा पाका पुस्ताले समेत राष्ट्रिय क्रिकेट खेलाडी लामिछानेलाई आफ्नो प्रश्न , जिज्ञासा तथा सुझावहरू राखेका थिए । युवा वर्ग तथा खेलाडीहरूले खेल क्षेत्रमा सफल कसरी हुन सकिन्छ ? खेल क्षेत्रमा धेरै राजनीति हुन्छ भन्ने सुनिन्छ नि ? क्रिकेट खेल्नका लागि कसले इन्सपायर गरयो ? सुरुका दिनमा परिवारबाट कत्तिको सपोर्ट पाउनुभयो ? सक्रिय खेलाडी हुनका लागि नयाँ पुस्ताले के कस्तो कुरामा ध्यान दिनुपर्छ ? देशमा समग्र रूपमा खेल क्षेत्रमा के कस्ता समस्या छन् ? खेल खेल्दै गर्दा हुटिङको महत्त्व के हो ? लगायतका प्रश्न तथा जिज्ञासा राखेका थिए ।
    जसलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय खेलाडी लामिछानेले कुनै पनि खेलमा सफल बन्न अथक लगन , मेहनत र खेल प्रतिको माया हुन जरुरी रहेको बताउनुभयो । सफल हुनुभन्दा अगाडी मात्रै होइन कि सफल भइसकेपछि पनि आफ्नो इमान्दारीता र खेलप्रतिको माया कहिल्यै छाड्न नहुने उहाँको भनाई थियो ।
    यसै गरी उहाँले आफूले खेल क्षेत्रमा राजनीति हुने कुरा महसुस नगरेको तर्क गर्नुभयो । ‘मैले क्याप्टेन हुँदा नेपालको प्रतिनिधित्व गर्दा कुनै पनि दबाबले काम गरिन , खेलाडी छनौट गर्ने कुरा छनौट समितिले गर्ने कुरा भएकोले रुल्स अनुसार नै हुन्छ, म त खेलाडी मात्रै हुँ म कुनै पनि समितिको सदस्य होइन त्यसैले म राजनिति कसरी हुन्छ भन्ने कुरा जान्दिन । लामिछानेले भन्नुभयो ।
    उहाँले आफूले बोकेको सपना साकार बनाउनका लागि कुनै पनि नकारात्मक कुरा कहिल्यै नसोचेको सधैँ सकारात्मक सोच राखेर अगाडी बढेको बताउनुभयो । उहाँले आफू पैसा र तलबका लागि खेल खेलेको नभई आफ्नो मान र इज्जत होस र देशको नाम माथि उठाउन सकियोस् भन्ने सोचेरै मात्रै खेल्ने गरेको बताउनुभयो । उहाँले आफू क्रिकेट सिक्दै गर्दा र खेल्दै गर्दाको दिन सम्झँदै त्यस बेलामा घरपरिवार र छरछिमेकले समेत खेलेर समय बरबाद नगर केही हुँदैन भन्ने साथीभाइ बटुल्दा गाली समेत खानु पर्ने अवस्था रहेको बताउनुभयो । तर अहिले सबैले खेलको महत्त्व बुझेको र खेल क्षेत्रमा मान इज्जत सँगै पैसा समेत रहेको हुँदा खेलाडी बन्ने सोच भएका आफ्ना छोराछोरी होस वा जोकोही भए पनि उसलाई हौसला प्रदान गर्न उहाँले सबैमा आग्रह समेत गर्नुभयो ।
    देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपानेले नगरपालिकाको तर्फबाट खेल क्षेत्रको विकास र खेलाडीहरूको क्षमता विकासका लागि बजेट र कार्यक्रम गरिरहेको र निरन्तरता दिने समेत बताउनुभयो । देवचुलीमा राम्रो खेल मैदान निर्माण गर्ने सोँचमा समेत पालिका रहेको हुँदा सानातिना योजना भन्दा पनि एकिकृत रूपमा ठुलो योजना बनाएर काम गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा राखेको उहाँले बताउनुभयो ।
    कार्यक्रममा विभिन्न विधाका खेलमा उत्कृष्ट भएका देवचुलीका युवा खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो ।
    नगर प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी , नगर प्रवक्ता तथा देवचुली ११ का वडा अध्यक्ष तिल प्रसाद काफ्ले , वडा अध्यक्षहरू , सदस्यहरू खेलाडी तथा खेल क्षेत्रमा रुचि राख्ने व्यक्तित्व र सरोकारवालाहरूको सहभागितामा कार्यक्रम भएको हो ।