२४ पुष २०८१ बुधबार | 08 Jan 2025 Wed

सहकारी अध्यादेश सहकारीको हित विपरीत भए संशोधन हुन्छ – मन्त्री श्रेष्ठ

  • समर रानाभाट
  • ३ दिन अघि
  • पाठक संख्या ५८

  • ज्ञानु पंगेनी , कावासोती । 
    गण्डकी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले  भर्खर मात्रै जारी भएको सहकारी अध्यादेश सहकारीको हितमा हुनुपर्ने बताउनुभएको छ । शनिवार देव चुली नगरपालिकामा आयोजना भएको जिल्ला सहकारी सङ्घ लिमिटेडको ४२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 
    उहाँले सहकारी अध्यादेश भित्र सहकारीको हित विपरीतका कुनै पनि कुरा बाधक भए संशोधन हुन सक्ने बताउँदै, यसका लागि सङ्घले ध्यान दिने बताउनुभएको छ ।  उहाँले केही सहकारीहरू नीति विधि र पदघीमा चल्न नसक्दा, राम्रा काम गर्दै आएका सहकारीप्रति पनि जनताले हेर्ने नजर बदलिएको भन्दै गलत काम गर्ने  सहकारीलाई कुनै पनि छुट नहुने जिकिर गर्नुभयो । 
    यस्तै उहाँले नवलपुरका सहकारीले बाहिर राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले सहकारीले कृषि उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने भन्दै त्यसका लागि सहकारीलाई प्रवद्र्धन गरिने समेत बताउनुभयो । कृषकका समस्या समाधान गरी कृषकलाई माथि उठाउन र सम्मान गर्न तथा कृषि उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन स्थानीय सरकार सँग समन्वय गरी अगि बढ्ने बताउनुभयो ।  कृषि क्षेत्रमा देखिएको मुख्य समस्या मल बीउको समस्या समाधानका लागि समेत  आफ्नो मन्त्रालयले पहल गर्ने उहाँले बताउनुभयो । 
    यसै गरी कार्यक्रममा बोल्दै देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपानेले सहकारीले उत्पादनमूलक क्षेत्रमा जोड दिन आवश्यक रहेको औलयाउनुभएको थियो । उहाँले नारायणी तिरदेखि शिरसम्म सम्भावना बोकेको गण्डकी प्रदेशमा कृषि , भूमि र सहकारीको राम्रो सम्भावना रहेकोमा जोड दिनुभयो । 
    राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य होमनाथ जैसीले अहिले आएको सहकारी अध्यादेश सहकारीको हित विपरीत आएको भन्दै हित विपरीत रहेको बुँदाहरूलाई संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले  सहकारी सुदृढीकरण गर्दै सबै सबल र सफल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकासँग समन्वय गरी श्रोत जुटाउन पहल गरिदिन समेत आग्रह गर्नुभयो ।  
    यस्तै  नेफस्कूलनका  सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले पनि  भर्खर जारी भएको सहकारी अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्दै यस अध्यादेशले सहकारीलाई तहसनहस बनाउन सक्ने बताउनुभएको थियो ।  
    कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष तिलक प्रसाद पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
    सचिव श्याम सुन्दर लामिछानेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक छविलाल अर्यालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष टिकाराम कँडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
    कार्यक्रममा मध्य नेपाल साकोसबाट प्रमुख कार्यकारी अधिकृत नर भूपाल भुसाल  , साना किसान कृषि सहकारी संस्था लिमिटेड कुमारवर्तीबाट सीता पाठक र  विकु साकोसबाट माधव प्रसाद पौडेल सम्मानित हुनुभएको छ भने , विनयी त्रिवेणी गाउँपालिकाका आर्थिक तथा सहकारी शाखा प्रमुख यम शर्मा पौडेल पनि सम्मानित हुनुभएको छ ।
    कार्यक्रममा जिल्ला सहकारी सङ्घको रिक्त रहेको उपाध्यक्ष पदमा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणि पौडेललाई नियुक्त गरिएको छ । उहाँलाई सर्वसम्मत चयन गरिएको हो । 
    जिल्ला सहकारी सङ्घका अध्यक्ष तिलक प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष खिना कुमारी भुसालले स्वागत गर्नुभएको थियो भने ,  संस्थाका सचिव श्यामसुन्दर लामिछानेले सहजीकरण गर्नुभएको थियो ।