२४ पुष २०८१ बुधबार | 08 Jan 2025 Wed

चितवनमा रक्तदानसम्बन्धि सचेतनामूलक स्टिकर अभियान सम्पन्न 

  • समर रानाभाट
  • २ दिन अघि
  • पाठक संख्या ८६

  • चितवन । रक्तदानको महत्त्वबारे जनचेतना जगाउन ‘ मिसन रेड अभियान ’ ले चितवनको चौबिसकोठी चोकमा सचेतनामूलक स्टिकर अभियान सञ्चालन गरेको छ । जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघसंस्थाको सहकार्यमा भएको यस अभियानमा स्थानीय र लामो दूरीका सवारीसाधनमा ६ सय वटा स्टिकर टाँसिएको हो ।

    रक्तदानको महत्त्वबारे जानकारी दिँदै नागरिकहरूलाई यसमा सहभागी गराउने उद्देश्यले शुरु गरिएको यस अभियानका लागि १ हजार २ सय वटा स्टिकर र १० वटा ब्यानर तयार गरिएको थियो । त्यसमध्ये ६ सय वटा स्टिकर विभिन्न सवारीसाधनमा प्रयोग गरिएको आयोजकले जनाएको छ । 

    मिसन रेडले डिजिटल प्लेटफर्म मार्फत पनि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराएको छ । कार्यक्रमलाई मिसन रेडका संयोजक अर्जुन अधिकारीले अध्यक्षता गरेका थिए । वाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए, भने जनस्वास्थ्य कार्यालय चितवनका प्रतिनिधि गुरु कँडेल र रोटरी क्लब अफ चितवनका द्वितीय उपाध्यक्ष राजन पिया विशिष्ट अतिथि थिए । 

    उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि तथा अन्य सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । मिसन रेड अभियान २०८१ मा एसडी फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा शुरु भएको हो । यस अभियानले देशभर रक्तदान कार्यक्रम र सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।