प्रिय धन , चोरमारा । २३ पुस २०८१ मंगलबार ।
सेजल एण्ड सिस्टर्स फाउण्डेशनले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ मा सहयोग गरेको छ । हुप्सेकोट आधारभूत विद्यालय , मध्यविन्दु १४ भेड़ाबारीमा मंगलबार ११४ जना विद्यार्थीहरुलाई ट्रयाक सुट सेट , मोजा र जुत्ता वितरण गरिएको मध्यविन्दु ५ का युवा समाजसेवी तथा आप्रबासी हक़हित संरक्षण मंच नवलपुरका सचिव चोलाकान्त काफ़्लेले जानकारी दिनुभयो ।
मंगलबार ( आज ) एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरी देखि कक्षा ८ सम्मका सबै विद्यार्थीहरुलाई उनीहरुको शरीरको नाप अनुसारकै साइजका कपड़ा तथा जुत्ता वितरण गरिएको विद्यालयका शिक्षक इन्दु भुसालले बताउनुभयो ।
युवा समाजसेवी चोलाकान्त काफ़लेको समन्वयमा हुप्सेकोट आधारभूत विद्यालय मध्यविन्दु १४ भेड़ाबारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य देविराम आले मगरको अध्यक्षता तथा सेजल एण्ड सिस्टर्स फाउण्डेशनका अध्यक्ष एवं राष्ट्रिय कलाकार सन्जित भण्डारीको प्रमुख आतिथ्यतामा पोशाक वितरण गरिएको विद्यालयका शिक्षक इन्दु भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा आफ्ना भनाइहरु राख्नु हुँदै फाउण्डेशनका अध्यक्ष सन्जित भण्डारीले पुस २३ गते ( आज ) कै दिन फाउण्डेशनका संस्थापक मेघ सुवेदीकी छोरी अर्थात सेजल सुवेदीको जन्मदिन परेको शुभ अवसरमा विकट क्षेत्रका विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिकाको विकट वडाको एउटा विद्यालयमा सहयोग गर्न पाउँदा पनि स्वर्गीय आनन्दको अनुभूति गरेको समेत भण्डारीले बताउनुभयो ।
जाड़ोको समयमा न्यानो कपड़ा ट्रयाक सुट र जुत्ता लगाउंदा सहज़ तरिकाले उकाली ओराली गर्न मिल्ने र सबै विद्यार्थीलाई एउटै पोशाकमा अत्यन्त सुन्दर देखिने पनि सेजल एण्ड सिस्टर्स फाउण्डेशनका अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो ।
यस्तै कार्यक्रममा फाउण्डेशनका सचिव डि आर सिग्देल, सदस्य सुदिप न्यौपाने , आप्रबासी हक़ हित संरक्षण मंचका गण्डकी प्रदेश सदस्य तथा मध्यविन्दु नगर समितिका अध्यक्ष मोति सिग्देल , युवा समाजसेवी तथा आप्रबासी हक़ हित संरक्षण मंच नवलपुरका सचिव चोलाकान्त काफ़्ले , शिक्षाप्रेमी व्यक्तिहरुले सिकाईलाई दैनिक जीवनसंग जोड़नका लागि यो सामाग्री उत्प्रेरक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
विशेष अतिथिका रुपमा रहनुभएका आप्रबासी हक़ हित संरक्षण मंच नवलपुरका सचिव चोलाकान्त काफ़्लेले अभिभावकबाट चुनावका बेला विद्यालयलाई धेरै सहयोग गर्छु भन्ने गरेका नेतागण चुनाव सकिएपछि फर्केर गाउँ नगएको गुनासो आएको भन्दै त्यस गुनासोको उचित सम्बोधन गर्न पनि जनप्रतिनिधि देविराम आले समक्ष नै जोड़दार माग राख्नुभयो ।
शिक्षामा कुनै पनि राजनीति लाद्न नहुने भन्दै काफ़्लेले पालिका भित्रका सबै विद्यालयलाई समान नजरले हेरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै हुप्सेकोट आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर सोतीले सहयोगका लागि आफ्नो विद्यालय छनौट गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै कार्यक्रमको समापन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य देवीराम आलेले मध्यविन्दु नगरपालिकाभित्रका सबै वडाका सबै सामुदायिक विद्यालयमा नि:शुल्क शिक्षा प्रदान गर्ने वातावरण मिलाउनुपर्ने धारणा राख्नुभयो । साथै आलेले पहाड़ी क्षेत्रमा अझै पनि शिक्षा भन्दा घरकै काम ठूलो मानेर विद्यालय नपठाउने चलन रहेको भन्दै विद्यालयमा सहयोग गर्नुले महत्वपुर्ण उपलब्धि प्राप्त गरेको जिकिर गर्नुभयो ।
"हाम्रा बालबालिका नयाँ ट्रयाक सुट र जुत्ता लगाएर खुसीका साथ विद्यालय आऊंछन् ।" उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आलेले सानो सानो उपलब्धिमा पनि खुसी हुने बालबालिकालाई यसरी सहयोग गर्नु ठूलो धर्म भएको प्रतिक्रिया दिनुभयो ।
"सामाजिक संजालमा जन्मदिनको अवसरमा घुमफिर र रमाइलो गरेको देखिन्छ, यहाँ त पुण्य काम भएको छ , म एकदम हर्षित छु ।" आलेले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस