ज्ञानु पंगेनी , कावासोती ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, मानवअधिकार एलाइन्स नवलपुरको नयाँ समिति दिपक सर्माको अध्यक्षतामा चयन भएको छ ।
एलाइन्सको कावासोती तीन स्थित सिद्धार्थ आवासीय माविमा बिहीबार भएको तेस्रो जिल्ला अधिवेशनबाट सर्माको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा श्याम सुन्दर लामिछाने ,सचिवमा बुद्धि सागर पोख्रेल , कोषाध्यक्षमा राम प्रसाद भट्टराई र सह सचिवमा मिना अधिकारी चयन हुनुभएको छ । यसै गरी सदस्यहरूमा होम कुमारी पोख्रेल , तुलसीदेवी खनाल , ईश्वर बहादुर एमसी , सुजाता सिख्राकार , शकुन्तला न्यौपाने तिवारी ,माया ढकाल चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, मानवअधिकार एलाइन्स नेपालका केन्द्रीय उपमहासचिव तिलोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले नयाँ र युवा पुस्तालाई यस संस्थामा आबद्ध गर्दै उनीहरुको क्षमता विकासमा काम गर्न जरुरी रहेको बताउनुभयो । यस संस्था सामाजिक न्यायको क्षेत्रमा काम गर्ने संस्था भएको हुँदा दूर दराजका क्षेत्रमा न्याय नपाइरहेका समुदाय तथा नागरिकहरू समक्ष पुगेर यस संस्थाले काम गर्ने गरेको बताउनुभयो । यस संस्थामा चुनौती सँगै काम गर्न अवसर समेत पाइने हुँदा संस्थामा आबद्ध भएपछि सक्रिय रूपमा काम गर्न उहाँले सुझाव समेत दिनुभयो ।
यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले मानव अधिकारी भनेको फराकिलो ठुलो घेराको अधिकारहरू समेटिएका हुँदा मानवअधिकार एलाइन्सको छुट्टै महत्त्व रहेकोमा जोड दिनुभयो । कसैको मानव अधिकार हनन नहुने गरी सम्बन्धित निकायलाई घचघच्याइने गरी काम गर्न सुझाव दिनुभयो । सबैको मानव अधिकारको ज्ञारेन्टी गर्न सबैसँग हातेमालो गरेर काम गर्ने गरी नयाँ कमिटी बन्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । मानव अधिकार संरक्षण एवं पवद्र्धनमा एलाइन्सले विगतमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन समेत श्रेष्ठले सुझाव दिनुभयो ।
कार्यक्रममा मानवअधिकार एलाइन्स नेपालको स्थापना र काम कर्तव्य लगायतका बारेमा अधिवक्ता भूपेन्द्र खनालले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सूर्य न्यौपाने , जिल्ला कमिटी सदस्य विद्रोही गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नारायण तिमिल्सीना , , जिल्ला कमिटी सचिव भिमलाल कंडेल , जिल्ला कमिटी सदस्य भोजराज दाहाल , इन्चार्ज प्रेम कुमारी सर्मा, अनेमसंघ कावासोती नगर कमिटी अध्यक्ष कान्ति गिरी लगायत पार्टी निकट विभिन्न जन वर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उद्घाटन सत्र निवर्तमान अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको थियो । उहाँले आफ्नो कार्यकालमा भए गरेका कामहरूका बारेमा समेत जानकारी गराउनुभएको थियो । जसलाई बन्द सत्रले अनुमोदन समेत गरेको छ ।
यसैबिच नव निर्वाचित अध्यक्ष दिपक सर्माले मानव अधिकारी संरक्षण र सम्बद्र्धनमा आफू लगायत आफ्नो टिम अग्रसर भएर काम गर्ने बताउनुभयो । उहाँले अब पालिका स्तरमा पनि मानव अधिकार एलान्यको गठन गर्नका लागि काम अगाडी बढाउने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस