अन्जान परियार । घिरिङ, माघ १६
सडक निर्माणको जिम्मा लिएको ठेकेदारले नै मुद्दा हालेपछि पाल्पाको रामपुरलाई तनहुँको दुलेगौडामा पृथ्वी राजमार्गसँग जोड्ने कृष्ण मोटरमार्गको धेनुङ देउराली–केलादीघाट खण्ड अन्तर्गत पर्ने तनहुँको घिरिङ गाउँपालिकामा पर्ने २५ किलोमिटर खण्ड अलपत्र छ । १५ महिनामा निर्माण सक्ने गरि २०७३ वैशाख २३ गते निर्माण कम्पनीसँग सम्झौता भएकोमा उक्त सडक मुद्धा मामिलाको कारण हालसम्म अपलत्र बनेको छ ।
१० करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी चितवनको सन्तोषी निर्माण सेवाले काम नसक्दै सकिएको दाबी गर्दै भुक्तानी माग गरेको थियो । पूर्वाधार विकास कार्यालय तनहुँले काम पूरा नगरेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएपछि ठेकेदारले उच्च अदालत पोखरा हुँदै नेपाल मध्यस्थता परिषदमा मुद्दा दायर गरेको थियो । निर्माण व्यवसायीले मेसिन र कामदारमार्फत लागतभन्दा धेरैको काम गरेको मौखिक दाबी गरेको तर हाजिरी लगायत काम गरेको पुष्टि हुने कागजात पेश नगरेको पूर्वाधार कार्यालय तनहुँले जनाएको छ ।
२०७३ सालमा जिल्ला प्राविधिक कार्यालय मार्फत निर्माण सुरु भएको यो सडक देश संघीयतामा गएपछि गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय नवलपुरमा हस्तान्तरण भएको थियो । त्यसपछि फेरि यो सडक पूर्वाधार विकास कार्यालय तनहुँ मातहत ल्याइएको थियो । जिल्ला प्राविधिक कार्यालयसँग भएको सम्झौता अनुसार ठेकेदार कम्पनीले यो सडकको निर्माण २०७४ साउन २८ गतेभित्र सक्नुपर्ने थियो । तर, त्यो बेला बल्ल काम थालेको कम्पनीले पछि पनि काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो । ठेकेदारले ७५ प्रतिशत काम गरेको र ७ करोड ६० लाख ३७ हजार रुपैयाँ (करिब ७१ प्रतिशत) भुक्तानी लिएको पूर्वाधार विकास कार्यालय तनहुँको भनाइ छ ।
नाला बनाउने, ट्राफिक संकेतहरु राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्धा हालेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । सन्तोषी निर्माण सेवाले ब्याजसहित ४ करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्धा हालेको थियो । नेपाल मध्यस्थता परिषदले २०७९ चैत ९ गते ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँले यही २०८० वैशाख ११ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको थियो ।
अहिले उच्च अदालत पाटनले मध्यस्थता परिषदको आदेश बदर गर्दै सम्झौता अनुसार काम गरेपछि मात्र भुक्तानी दिन आदेश दिएको थियो । सन्तोषी निर्माण सेवाले भने ब्याजसहित ४ करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्धा हालेकोमा मध्यस्थता परिषदले ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँ उक्त फैसला बदरको माग गर्दै सर्बोच्च अदालत जाने तयारी गरिरहेको छ ।
तर घिरिङ गाउँपालिकाले भने पुर्वाधार कार्यालयलाई सर्बोच्चमा नजान दबाब दिने भएको छ, दुई पटक सम्म ठेकेदारको पक्षमा फैसला गरेपछि घिरिङ गाउँपालिकाबासीले भने दह्रो रुपमा आन्दोलन गर्ने योजना सहित गाउँपालिकाका पुर्ब अध्यक्ष रन बहादुर रानाको संयोजकत्वमा संघर्ष समिती गठन गरेका छन् । उक्त समितिको सह–संयोजकामा नेपाली कांग्रेस घिरिङ गाउँ सभापति याम बहादुर थापा र माओबादी केन्द्र घिरिङका अध्यक्ष चुन नारायण श्रेष्ठ सहित २५ जना रहेका छन् । उक्त समितिले पुर्वाधार कार्यालय घेर्ने तथा ठुलो आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा उक्त सडकमा निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रम अन्तर्गत तत्कालिन सांसद केदार सिग्देलको पहलमा ४० करोड रुपैयाँ बजेट परेको थियो । तर अदालतमा मुद्धा विचाराधीन भएकै कारण उक्त रकम खर्च गर्न नसकेको र अब मुद्वा सर्वोच्चमा गए घिरिङका जनता सधैं अन्यायमा पर्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।
‘कहिले ठेकेदारले मुद्वा हाल्ने त कहिले पुर्वाधार कार्यालयले मुद्वा हालेर बिकास निर्माणमा अबरोध गरेपछि सडक विभाग, मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म धाइरहेका छौं, संघिय सरकार बाट परेको बजेट होस वा गाउँपालिकाले बिनियोजन गरेको ५ करोड बजेट पनि खर्च गर्ने बाटो पाएनौं’ अध्यक्ष थापाले भने ‘सरकारी नम्बर प्लेटको साधन चढेर हिड्ने स्थानीय तह देखि प्रदेश, संघिय स्तरका जनप्रतिनिधिसँग नागरिकको आक्रोश छ ।’
आर्थिक वर्ष २०७८÷२०७९ यता उक्त सडकको लागि करोडौं रुपैयाँ विनियोजन भएपनि मुद्धाकै कारण उक्त रकम खर्च गर्न नसकिएको घिरिङ गाउँपालिकाका अध्यक्ष थापाले बताए । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत उक्त सडक परेपनि मुद्धाको कारण हरेक वर्ष बजेट फिर्ता जाने अध्यक्ष थापाले बताए । ‘ठेकेदारले दुख दिने, समयमा काम नगर्ने र उल्टो मुद्धा हाल्ने गरेपछि सडक विभाग, मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म सहजीकरणको पुग्यौंं’, अध्यक्ष थापाले भने ‘तर, परेको बजेट पनि खर्च गर्न पाएनौं ।’
उक्त सडकको काम सुचारु गर्ने विषयमा हालै जिल्ला समन्वय समिति, जिल्ला पुर्वाधार विकास कार्यालय र घिरिङ गाउँपालिकाले संयुक्त अनुगमन गरेको छ । उक्त सडकको काम सुचारु गर्न घिरिङ गाउँपालिकले जिल्ला समन्वय समिति, प्रदेश मुख्यमन्त्री, पुर्वाधार मन्त्री, पुर्वाधार कार्यालय, सडक बिभाग, प्रधानमन्त्री र अर्थ मन्त्री समक्ष पटक–पटक भेटी सहजीकरण गर्न अनुरोध गरेको छ ।
उक्त सडकको अवलोकन गरि हालको अवस्थाको बारेमा माथिल्लो निकायसमक्ष जानकारी गराउने उद्देश्यले जिल्ला समन्वय समितिलाई अनुरोध गरि संयुक्त अनुमगन गरिएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सडकको हालको अबस्थाको यथार्थ बिवरण पठाएर सम्बन्धित निकायमा दबाब दिने योजना सहित अनुगमन गरिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पुर्वाधार कार्यालय तनहुँका इन्जिनियर होमनाथ गौतम, घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष, पुर्व गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरु, विभिन्न राजनितीक दलका प्रतिनिधिहरु र स्थानीय बुद्धिजीवीहरुको सहभागितामा सडकको अनुगमन गरिएको हो । उक्त क्रममा कृष्ण मोटरमार्गको भोरकोट देखि सालिग्राम करिडोर जगौलिटार जोड्ने मदन मोटरमार्ग अन्तर्गत भोरकोट स्थित ठूलो क्षेत्रफलमा गएको पहिरोको पनि अनुगमन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस