रौतहट । मधेशमा चिसो धमाधम ओरालो लाग्दै छ, बिस्तारै तापक्रम उकालो लाग्दै छ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल शुरु भएको छ । सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्न सकिने पर - परका खेतबारीमा मानिसहरू देखिन थालेका छन् । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर -१ को फ्रेसकेटीएम फार्मका कामदारलाई बिहानैदेखि कामको चटारोले छोएको छ । सबै जना फार्ममा आफ्नै जिम्मेवारी पूरा गर्न तल्लिन देखिन्छन् । फार्ममा रहेका कामदार खेतमा माटो तयार पार्दैछन् । केही सहयोगी हाँस, कुखुरा र गाईभैंसीहरूको हेरचाह गर्दैछन् । कोही फार्ममा फलेका तरकारी टिप्न व्यस्त देखिन्थे । कसैलाई स्थानीय बजारमा पुर्याउन हतारो भएको जस्तो लाग्थ्यो । फार्मकै गाडीमा तरकारी हालिरहेका छन् ।
सबै आ - आफ्नै काममा व्यस्त रहँदा रातो वर्णका मझौला कदका एक युवकको प्रवेश हुन्छ, श्याम तामाङ । जसले फार्ममा सुपरभिजनको काम पाएका छन् । बिहानैदेखि फार्ममा रहेका सबै साथीहरूलाई काम लगाउनु र बारीमा भएका तरकारीहरूको हेरचाह गर्नु उनको पहिलो जिम्मेवारीमा पर्छ । सय बिघामा लगाइएका तरकारीको हेरचाह मात्र नभइ फार्ममा रहेका अन्य कर्मचारीको काम पनि श्यामले हेर्छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर -४ का श्यामले प्राथमिक शिक्षा गाउँबाटै हासिल गरे । स्थानीय विद्यालयमा आफूलाई पुग्ने ज्ञान र विद्या आर्जन गरिसकेको उनको तर्क छ । प्राथमिक शिक्षा मात्र पूरा गरे पनि अध्ययनको कमी भएको महसुस उनले गरेनन् ।
जसले पढेरभन्दा गरेर जाने
मध्यम वर्गीय परिवारमा हुर्किएका उनी आफूलाई काम गर्न रुचाउने र मेहनतीमै गणना गर्छन् । तामाङ भन्छन्,'घर - परिवारका अन्य सदस्यले काम र दुःख नगर । सकेको हामी सहयोग गर्छौ भन्छन् । मनले मान्दैन । सकेसम्म आफैँ काम गरेर खान मन छ ।' जापानमा रहेका भाइ र बहिनीले श्यामलाई काम गर्नु पर्दैन भन्छन् । आफ्नो पाखुरा चलेसम्म काम गरेर खानु पर्छ भन्ने भनाइलाई आत्मसाथ गरेकाले उनी परिश्रम गर्नबाट कहिल्यै टाढा हुँदैनन् । श्याम बिहान ६ बजेदेखि साँझ ६:३० बजेसम्म फार्ममा व्यस्त रहन्छन् । दिन लामो हुँदै गएपछि कोहीबेला राति ९:३० बजेसम्म फार्ममा व्यस्त रहने तामाङले बताए । 'काम गर्न सहज छ । आफूले गरेको भिन्न पेशाभन्दा फरक काम गरिरहेकाले नौलो अनुभव प्राप्त गरिरहेको छु', तामाङले भने । यसभन्दा अघि उनी काठमाडौंमै सवारी चालक थिए । ३ वर्षसम्म सवारी चालकको उनीसँग अनुभव छ । अहिले भने फार्ममा तामाङको दैनिकी बितिरहेको छ । जहाँ उनी चालक होइन सुपरभाइजर छन् ।
तामाङले फार्ममा काम गरेको १ वर्ष भयो । तामाङको मातहतमा ७० जना कर्मचारी र दैनिक ज्यालादारी ३० जना छन् । श्यामले झण्डै ७ वर्षको विदेश बसाइँलाई बिट मारेर गाडी लिएर २ वर्ष चलाए । उनी कामलाई सानो - ठूलो भनी विभेद गर्दैनन् । खल्तीमा लाइसेन्स बोक्ने यतिखेर श्याम मेलामा धानको भारी बोकेर बसेका छन् । जहाँ प्रकृति र प्राणीसँग मात्रै रमाएका छैनन् , दैनिक माटोसँग पैंठेजोरी खेल्छन् । उनी फ्रेसकेटीएममा ड्राइभिङ गर्थे । गाडी चलाउन आएका तामाङले सीप र क्षमताले गर्दा आफूलाई भीडभन्दा फरक उभ्याएका छन् । सिक्न आएका उनी अहिले भने अरुलाई सिकाउन थालेका छन् ।
सय जनाको कामदारको नेतृत्त्व
सय जना कामदारलाई काममा अह्राउने जिम्मा श्यामको छ । सबैले काम गरेको र नगरेको रेखदेख आफूले गर्ने गरेको उनी बताउँछन् । श्यामले अवसर पाए । सजिलो काम त्यागेर नयाँ र नौलो ज्ञान सिक्न रौटहटको गर्मीलाई पछ्याउँदै पुगे । तामाङलाई गाडीमा बसेर काम गर्नु सजिलो थियो । नयाँ कुरा सिक्न र फरक भूगोलमा जीवनयापन गर्न चाहने रुचीले तामाङलाई फार्मले तान्यो । 'मेहनती र इमान्दारी भएकाले यो ठाउँमा पुगेको छु', ३६ वर्षीय श्यामले भने,' इमान्दार भएर सिधा बाटोमा हिँड्ने आफ्नो जिम्मेवार पूरा गर्ने हो मानिसले आफ्नो लक्ष्य हासिल गर्छन् । समस्यासँगै समाधान पनि आउँछ । समस्या पर्यो भनेर आँत्तिन हुँदैन ।' तामाङले खेतीपाती, मलखाद व्यवस्थापन, पशुपालन र सिंचाइ प्रणाली सिके । सप्लाई चेन व्यवस्थापन, गोदाम र ढुवानी नियन्त्रण गर्ने जिम्मेवारी पाए । पढेर पाएको शिक्षाभन्दा व्यवहारिक शिक्षा उनले महत्त्वपूर्ण ठाने । यो सबैको परिणाम भनेको निरन्तर लगाव, इमान्दार तथा विश्वास रहेको उनी मान्छन् । अहिलेको समयमा मानिस प्रविधिसँग अपडेट हुनुपर्छ । परिवर्तनसँगै मानिसको जीवनमा नयाँ - नयाँ अवसर आउने गर्छ । श्यामले पनि प्रविधिका बाटोलाई पछ्याएर आफूलाई सजिलो बनाएको ठान्छन् । त्यसैको फलस्वरुप तामाङले आधुनिक कृषि फार्ममा सम्पूर्ण जिम्मेवारी पाएका छन् ।
'सडकको अनुभवबाट एक्कासी कृषि फार्ममा पुग्नु वास्तविक जीवन सिकाइको पाठशाला रहेछ,' तामाङले उत्साहित हुँदै भने,'नदेखिएका हरेक कुराको आफ्नै अस्तित्व रहेको र यहाँ आएपछि त्यस्ता विषयको महत्त्व बुझेको छु ।' संकलन केन्द्रमा तामाङले कामको वर्गीकरण बुझे । हरेक कामको महत्त्व हुन्छ । फार्ममा अझ बढी वर्गीकरण हुने रहेछ । तामाङले तरकारी वर्गीकरण, प्याकेजिङ र वस्तुको गुणस्तरका काम सिके । कसरी यहाँका वस्तुहरू बजारसम्म पुर्याउँने र बजारलाई फार्ममा ल्याउने त्यो महसुस गरे । श्याम परिवारका जेठा छोरा हुन् । सानैमा जिम्मेवारीको बोझ उनको काँधमा आयो । तामाङले देश छाडे इराक र मलेसियालाई कर्मभूमी बनाइसकेका छन् । झण्डै ७ वर्ष विदेशमा बिताएका तामाङले अब भने काम पाएसम्म नेपाल नछाड्ने योजना बनाएका छन् । समय - समयमा परिवार भेट्न काठमाडौं गइरहन्छन् , तर कोहीबेला भने परिवारका सदस्य पनि उतै जान्छन् । तामाङका १ छोरा र १ छोरी छन् । एकदिन श्याम भएको ठाउँमा छोरी पुगिन् । उनले बुबालाई पहिलोपटक नेतृत्वको भूमिकामा देखिन् । तामाङले भावुक हुँदै भने,'छोरीले बुबालाई सम्मान गरेको देखिन् । अरुले सर भनेर बोलाएको सुन्दा अचम्म मानिन् । पुनः छोरीको भनाइ उद्दत गर्दै तामाङले सुनाए,'पापा, मैले कहिल्यै सोचेको थिइनँ कि तपाईं नेता हुनुहुन्छ ।'
विदेश भनेको जोखिमको यात्रा
पोर्चुगल जान अप्लाइ गरे पनि त्यसलाई रद्ध गरिसकेको तामाङले सुनाए । 'विदेश भनेको जोखिमको यात्रा हो, मसँग विदेशमा काम गरेको धेरै अनुभव छ', उनी विगत सम्झँदै भन्छन्,' जतिखेर जे पनि हुन सक्छ । भनेको समयमा घर परिवारलाई भेट्न नपाइने, तर यहाँ काम पाएमा जुनसुकै समयमा परिवारलाई भेट्न जान पाइन्छ । आफ्नो देश भनेको आफ्नै हो । यहाँको रहनसहन, रितिरिवाज तथा हावापानी कहिले भुल्न नसकिने खालका छन् ।' उनी विदेशमा नेपालीलाई भेट्ने गर्थे । भेटघाटमा नेपाली समाजको तथा समसामयिक विषयमा कुरा गर्न रुचाउँथे । सबैले उनलाई भन्थे' नेपालमा केही हुँदैन। हाम्रो देशले हामीलाई अवसर दिँदैन ।' श्याम भने फरक स्वभावका थिए । अरुका कुरा सुने पनि आफैँ निर्णय लिन्थे । अरुको कुरामा पछि लाग्दैन थिए । तामाङलाई स्वदेश फर्कने हुटहुटीले तानिरह्यो । देश फर्कने चाहनाले नै यो अवसर पाएको उनी ठान्छन् । श्याम स्टेरिङदेखि कम्प्युटरसम्म पुगेका छन् । तामाङले प्रविधिसँगै व्यवस्थापन सिकेका छन् । अहिले फार्ममा भने आफूभन्दा योग्यतामा शिक्षितलाई सिस्टमका कुरा सिकाउँछन् ।
उनीसँग युद्धमा इराकमा अमेरिकी सैनिकको क्याम्पभित्र बसेर काम गरेको अनुभव पनि छ । त्यति मात्रै होइन् मलेसियामा उनी फ्याक्ट्रीमा पनि काम गर्थे । फ्रेसकेटीएममा भरत अर्यालमार्फत प्रवेश गरेका हुन् । अग्रज आङ छिरिङ शेर्पाले सिस्टमको बारेमा सिकाएको उनी सम्झन्छन्,'फोटोकपी गर्न नआउँदा सिस्टम सबै सिकाइ दिने सरोज श्रेष्ठ र फिल्डमा काम गर्दा राम्रो सहयोग सोभित कँडेल र मदन मोक्तानको रहेको थियो ।' उनी कहिल्यै प्रमोशन माग्न गएका थिएनन् । उनी काम गरेर आफ्नो ठाउँ बनाउँदै गए । 'नजान्ने कुरा हातमा लिनुहोस्, प्रयास नगरी पछि नहट्नुहोस्', उनी प्रेरणादायी सुनिन्छन् । नेपालमा धेरै युवाहरू आफूलाई नयाँ कुरा सिक्न अयोग्य ठान्छन् । यो सोचाइ ठूलो भुल हो । इच्छा हुनेहरूलाई यहाँ प्रशस्त अवसर छ ।' कम्प्युटर त पढेलेखेकाहरूका लागि मात्र हो भन्ने मान्यतालाई उनी भत्काउन चाहन्छन् । उनी अहिले कम्प्युटर सहजै चलाएर सिस्टममा काम गर्छन् । व्यवस्थापन गर्न कुनै तहको प्रमाण - पत्र मात्र लिएर हुन्न । काम गरेर व्यवस्थापन गर्न सकिने श्यामको अनुभव छ । टिमलाई सम्हालेर लैजान नेतृत्व गर्ने मान्छे त पढेकोभन्दा पनि सहनशील, मेहनती र इमान्दारी हुनु पर्ने तामाङको ठहर छ ।
इमान्दार र मेहनतीलाई स्वदेशमै अवसर
डिजिटल इन्वेन्टरी, तलब भुक्तानी र कर्मचारी व्यवस्थापनको सबै उनी आफैँ गर्छन् । श्याम सुनाउँछन्,'यदि मैले गर्न सक्छु भने, तपाईं पनि गर्न सक्नुहुन्छ । अगुवाले सम्मान मात्र नभइ सम्मान गर्न सिकाउने हुनुपर्छ । यसलाई पाएको अवसरसँगै इमान्दारिताले दिएको जिम्मेवारी ठान्छु ।' नेपालमा अवसर खोज्नभन्दा पनि बनाउन लाग्नु पर्ने तामाङको बुझाइ छ । अहिले नेपालमा धेरै कम्पनी खुलेका छन् । इमान्दारी र मेहनतीका लागि अवसर पर्खेर बसेको तामाङले बताए । ४ वर्ष काम गर्दा कुनै पनि पदको दाबी गरेनन् । तामाङले काम गर्दा आफ्नो र अर्काको कहिल्यै सोच्न नहुने उनको बुझाइ छ । 'काम गर्ने सोच र जाँगर भएमा आफू कहिले पनि पछि परिँदैन्', दार्शनिक सुनिए । सिकाइको अनुभव सेयर गर्दै भने,'कसैसँग बारेमा कुरा गर्दा र आफ्नो कुरा अरूलाई कसरी चित्त बुझाउने त्यो पनि सिकेको छु । आफूले नजानेको सिक्ने र जानेको कुरा सबैलाई सिकाउनु पर्छ जस्तो लाग्छ ।'
जिम्मेवार लिन चाहनेका लागि धेरै अवसर छन् । तपाईं मेहनत गर्न तयार हुनुहुन्छ भने, अवसरले तपाईंलाई पर्खेको छ,' तामाङले अगाडि थपे,'नेपालले अब आफ्नो युवाहरूलाई फर्काउने बेला आएको छ । यहाँ धेरै सम्पत्ति छन् । हाम्रो माटो, हिमाल, जलस्रोत र हाम्रो युवा जनशक्ति सम्पत्ति छन् ।' यी युवाको कथा सुन्दा नेपालमै अवसर छ । जसले यस्ता युवाहरूलाई प्रोत्साहन र अवसर दिन सकेमा नेपाल छाड्ने युवाको संख्यामा कमी आउने थियो । कुशल नेतृत्त्वले असल व्यवस्थापक जन्माओस् । जिम्मेवार र इमान्दार मानिसले विश्वविद्यालयमा डिग्री हासिल गरेकालाई पदचाप पछ्याउन लगाउन सक्ने छन् । जसले गर्दा इमान्दार मानिसहरू देशबाट नहराउन् । आफ्नै बारीमा मेहनती हात र इमान्दार युवालाई देख्न पाइयोस् ।
प्रतिक्रिया दिनुहोस