२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

गोदावरी साहित्यमा नवराज सञ्जेलको नेतृत्व 

  • समर रानाभाट
  • ३ हप्ता अघि
  • पाठक संख्या १०८

  • ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसार समितिको अध्यक्षमा नवराज सञ्जेल, उपाध्यक्षमा जनार्दन पौडेल, सचिवमा शर्मिला दाहाल, सह - सचिवमा उषा के.सी. सिल्वाल र कोषाध्यक्षमा अश्वस्थामा अर्याल रहेका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा नागेश न्यौपाने ( निर्विरोध निर्वाचित ), राम कुमार श्रेष्ठ, कल्पना महर्जन र सुस्मिता अधिकारी रहेका छन् । 

    वरिष्ठ साहित्यकार प्रा.डा. तुलसी भट्टराई, प्रा. रामकुमार पाँडे, साझा प्रकाशनका अध्यक्ष शेखर गिरीलगायतका व्यक्तित्वको उपस्थितिमा सम्पन्न अधिवेशन तथा रचनावाचन कार्यक्रममा करिब २ दर्जन स्रष्टाले कविता, गजल, गीतलगायतका साहित्यिक प्रस्तुति राखेका थिए । संस्थाले ललितपुरको गोदावरी नगरपालिकाभित्रका भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा काम गर्दै आएको छ । विधानत गोदावरी नगरपालिकाका नगर प्रमुख संरक्षक र उप - प्रमुख सह - संरक्षक तथा प्रमुख प्रशासकीय अधिकृत पदेन सल्लाहकार रहने उक्त संस्थालाई नगरपालिकाले साहित्यिक कला र संस्कृतिको क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

    कार्यक्रममा उपस्थित अतिथिहरूले कार्य सफलताको शुभ - कामना व्यक्त गर्दै गोदावरी साहित्य परिषद्ले ऐतिहासिक रुपमा राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरू सम्पन्न गरेकोमा उच्च प्रशंसा समेत गरेका थिए । निर्वाचित अध्यक्ष सञ्जेल गजल, पहिचान गीत तथा हाईकुको लेखनमा अब्बल मानिन्छन् । वाग्मती गीतका सर्जक सञ्जेलले शैक्षिक गीतको राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल समेत गरेका थिए । संस्थाले निवर्तमान अध्यक्ष वशिष्ठ अधिकारीलाई  सल्लाहकार संयोजक मनोनित गर्दै यथाशीघ्र प्राज्ञ भेला गर्ने जनाएको छ ।