२८ चैत २०८१ बिहिबार | 10 Apr 2025 Thu

कालीगन्डकी नदीले निर्माण गरेको सुन्दर र धार्मिक महत्वको घुमारीघाटः

  • समर रानाभाट
  • ५ दिन अघि
  • पाठक संख्या २५७

  • नवलपुर र तनहूँको सिमानामा अवस्थित बुलिङटार गाउँपालिका वडा नम्बर ६ मा रहेको घुमारीघाट कालीगन्डकी नदीले निर्माण गरेको सुन्दर र धार्मिक महत्वको घाट हो । यो घाट कृष्णागण्डकी (कालीगन्डकी) ले मध्यविन्दुमा निर्माण गरेको आकर्षक घाट हो । 
    कृष्णागण्डकी नदी बगेर देवघाटमा अन्य गण्डकीहरुसँग मिल्नजाने क्रममा उक्त स्थानमा आइपुग्दा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले उक्त गाईलाई दाहिना परिक्रमा गर्दा घुमाउरो आकार लिएर बनेको हुँदा उक्त घाटलाई घुमारीघाट भन्न थालिएको जनविश्वास छ । उक्त स्थान तनहुँको ऋषिङ गाउँपालिकाको उम्से डाँडाबाट हेर्दा कुम्भ (भगवती लक्ष्मीको घडा) आकारको देखिन्छ । 
    घुमारीघाटमा कालीगण्डकीले करिव ५०० रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । यो शखं अर्थात कुम्भ आकारको घुमारीघाटमा बुलिङटारबाट प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ । घुमारीघाटमा तिहारको लक्ष्मीपुजा दिन ठूलो लाग्ने गर्दछ । मेलामा लोपोन्मुख दरै, मगर समुदायको संस्कृति, मारुनी, कौरा नाच, नौमतीबाजा, भजन कृतन समेत देख्न पाइन्छ ।
    लक्ष्मीपूजाको दिनमा विशेष पूजा गरिने यो मन्दिरको आकार सानो भएता पनि टाढाटाढा सम्म फैलिएको छ । स्थानीय बुढापाकाका अनुसार घुमारीघाटको भूखण्डमा पहिले मध्य रातमा शंखको आवाज समेत सुनिन्थ्यो तर अहिले भने त्यो आवाज सुनिन छाडेको छ । कालीगण्डकीले दाहिना परिक्रमा गरेको र शंखको आवाज सुनिने गरेकोले स्थानीय वासीन्दाले यो भूखण्डलाई दाहिना शंख पनि भन्ने गरेका छन् ।
    वराहपुराणमा उल्लेख गरिए अनुसार शालङायन ऋषिले तपस्या गरेपछि चारैदिशामा भगवानको दर्शन पाउनुभएको कथासंग मिल्ने यो भूखण्डलाई प्राचीन शंखप्रभको रुपमा लिने गरिएको छ । शालिग्रामयुक्त बगरले बनेको यो भूखण्डमा पाईने हरेक चट्टानमा शालिग्रामको दर्शन गर्न पाईन्छ । शालिग्रामहरुको बास भएको भूखण्डको बीचमा हिरण्यगर्भ शालिग्राम विराजमान भएको विश्वास गरिन्छ । घुमारीघाटलाई देवकुम्भको उपनामले पनि चिन्न सकिन्छ ।
    घुमारीघाटलाई ग्रामीण सडकले जोडेको छ । गैडाकोटबाट ५५ किमीको यात्रामा कालीगण्डकी करिडोरको सडकबाट सहजहरुपमा घुमारीघाट पुग्न सकिन्छ । 
    उक्त घुमारीघाटको धार्मिक महत्वको संरक्षण गर्न अठ्ठार पुराणका प्रवक्ता बालव्यास नारायण न्यौपाने (श्रीकृष्णचरणामृत) को सरंक्षकत्वमा हरिहर धार्मिक सेवा प्रतिष्ठान काठमाडौंले अनाथ आमा आश्रम, विभिन्न मठ मन्दिर तथा १०८ शिवलिङ्ग स्थापना गरेको छ । उक्त अनाथ आश्रममा अनाथ बुवा आमालाई आश्रय दिइने कार्यक्रम प्रतिष्ठानले लक्ष्य लिएको छ ।