मध्यविन्दु, पूर्वी नवलपरासी । विश्व स्वास्थ्य दिवसको अवसरमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘स्वस्थ भविष्यका लागि आजको रक्तदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम मध्यविन्दु नगर युवा सञ्जालको आयोजनामा सम्पन्न भएको हो।
नगरपालिकाको आर्थिक सहयोगमा तथा जागृति बाल तथा युवा सरोकार नेपाल, क्यानलान, रक्तदाता समाज नवलपुर र बाघखोर युवा क्लबको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा २६ जना स्वयंसेवी रक्तदाताहरूले रगत दान गरेका थिए।
कार्यक्रमको अध्यक्षता नगर युवा सञ्जालका अध्यक्ष प्रकाश रेग्मीले गरेका थिए भने नगरप्रमुख भीमलाल अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी थिए।
नगरप्रमुख भीमलाल अधिकारीले कार्यक्रममा बोल्दै भने, “स्वास्थ्य भनेको हाम्रो जीवनको आधार हो। रक्तदान जस्तो सानो योगदानले कसैको जीवन बचाउन सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ। आजको यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने काम गरेको छ ।
नगर युवा सञ्जालका अध्यक्ष रेग्मीका अनुसार, पछिल्लो समय जिल्लामा रगतको अभावको समस्या बढ्दै गएकोले सो समस्या केही हदसम्म समाधान गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो। “जिल्लामा दैनिकजसो रगतको आवश्यकता पर्ने बिरामीहरू बढिरहेका छन्। हामीले कम्तीमा केही हदसम्म भए पनि यो अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेका हौं,” उनले बताए।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटीका उपाध्यक्ष बदि नेपालले रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक सञ्जाललाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको सहजीकरण रितु घर्तीले गरेकी थिइन्। सहभागिता, उत्साह र सामाजिक उत्तरदायित्वको भावनाले भरिएको यो रक्तदान कार्यक्रमले जिल्लामा स्वास्थप्रतिको सचेतना बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस