५ बैशाख २०८२ शुक्रबार | 18 Apr 2025 Fri

दाउन्नेमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द

  • समर रानाभाट
  • १ हप्ता अघि
  • पाठक संख्या ६७

  • नवलपुर 
     नारायणगढ–बुटवल सडक अन्तरगत दाउन्नेमा आजदेखि दैनिक चार घण्टा यातायात आवागमन बन्द हुने भएको छ । दाउन्ने खण्डमा सडक निर्माणका लागि आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द गर्न लागिएको नारायणगढ–बुटवल निर्माण योजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।
    दाउन्नेमा सडक निर्माणको काम गर्न आज बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द गर्न लागिएको सूचना अधिकारी खनालले बताउनुभयो ।
    दाउन्ने खण्डमा यातायात सञ्चालनकै अवस्थामा निर्माणको काम अघि बढाउँदा जामको समस्या झेल्नु परेको र निर्माणको काम समेत सुस्त भएकाले यातायात सञ्चालनमा रोक लगाएर सडक निर्माण गर्न थालिएको नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।
    आजदेखि चैत ३१ गतेसम्म दिउसो चार घण्टा सवारी आवागमन बन्द गरिने छ । वैशाख १ गतेदेखि वैशाख १५गते सम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात आवागमन बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । दिउसो यातायात रोकेर खाल्डाखुल्डी पुर्ने, सम्माउने तथा अन्य निर्माणको काम गर्ने र राति पहाड काट्ने काम हुने उहाँले बताउनुभयो ।
    अहिले दाउन्नेमा खाल्डाखुल्डी धेरै परेको र साँघुरा घुम्तीहरूका कारण जामको समस्या बढेकाले यात्रुलाई सास्ती भएकाले यातायात सञ्चालन रोकेरै छिटो काम गर्न लागिएको उहाँको भनाई रहेको छ । ‘ बाटो मर्मत नहुँदा धेरै जाम हुने गरेको छ, त्यसलाई सम्माउने ,साँघुरा घुम्तीहरूलाई मिलाउने र यात्रा सहज बनाउन यातायात सञ्चालन रोक्न लागिएको हो’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।
    दाउन्नेको पूर्वी खण्डमा अहिले कल्भर्ट निर्माण,नाला निर्माणको काम चलिरहेको नारायणगढ–बुटवल सडक योजनाका सूचना अधिकारी खनालले बताउनुभयो । दाउन्नेको पूर्वी खण्डमा पहाड कटिङको काम सकिएको उहाँको भनाई छ । पश्चिम खण्डमा डेढ किलोमिटर पहाड काट्न बाँकी रहेकाले रातिको समयमा यातायात रोकेर उक्त काम अघि बढाउने तयारी भएको सूचना अधिकारी खनालले बताउनुभयो । आकस्मिक र आपत्कालीन सेवाका सवारीहरू बाहेक सबै प्रकारका सवारी आवागमनमा रोक लगाइएको छ । दिउसो सवारी आवागमन बन्द हुनुभएपछि विभिन्न प्रकारका सवारीलाई निश्चित ठाउँमा रोक्ने व्यवस्था गरिएको छ । बुटवलतर्फ जाने यात्रुवाहक बस,मिनिबस,माइक्रो बस र साना सवारी हरूलाई होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डमा रोकिनेछन् । मालवाहाक सवारीहरू चोरमारा –अरुण खोला खण्डमा रोकिनेछन् ।
    नारायणगढतर्फ छुटेका यात्रुवाहक सवारी चिसापानी –बर्दघाट खण्ड र मालवाहक सवारी ज्यामिरे –हकुई खण्डमा रोकिनेछन् ।
    गैँडाकोटदेखि बुटवलसम्म एक सय १३ किलोमिटर सडक मध्य दाउन्ने खण्डमा १४ किलोमिटर पर्दछ । दाउन्नेमा तीन लेनको सडक निर्माण गरिने छ । बजार क्षेत्रमा चार लेन सहित छ÷छ लेन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिने छ ।