भिमाद, वैशाख ५
भिमाद नगरपालिकाले जेष्ठ ३ र ४ गते सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शिविरमा नगर क्षेत्रभित्रका १०४ वटा कुकुरलाई बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप पनि लगाइएको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए।
नगरप्रमुख दधिराज सुवेदीका अनुसार, नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न र रेबिज रोगको जोखिम घटाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।
शिविर भिमाद नगरपालिका–६ स्थित सिम्बोट खसीबजारमा सञ्चालन गरिएको थियो। उक्त अवसरमा स्थानीयहरूले घरपालुवा तथा सार्वजनिक कुकुरहरू ल्याएर बन्ध्याकरण र खोप लगाएका थिए।
कार्यक्रम भिमाद नगरपालिका पशु सेवा शाखाको आयोजनामा, मानव, पशु तथा बाली संरक्षणका लागि युवाको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो।
प्रतिक्रिया दिनुहोस