ज्ञानु पंगेनी , वैशाख ११ गते ।
पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्व ( नवलपुरले ) चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माणको काम सम्पन्न गरेको छ ।
जसमध्ये ठुलो लागतको जय श्री खोला पुल निर्माण सम्पन्न भएको हो । ६० मिटर लामो यस पुल निर्माण सम्पन्न भई अहिले सवारी साधन आवतजावत गर्न सुरु भइसकेको छ । पुलमा अब रंगरोगन मात्रै बाँकी रहेको छ । गैँडाकोट वडा नम्बर ६ र ९ जोड्ने यस पुलको लागत ६ करोड ३८ लाख रुपियाँ रहेको छ ।
यसै गरी कावासोती डण्डाखोलामा सल्लो फर्सा घाट चिसापानी पुल निर्माण सम्पन्न भएको छ । ७१ मिटर लम्बाइको यो पुल पाँच करोड १६ लाख रुपियाँमा निर्माण सम्पन्न भएको हो । भने , मध्यविन्दु – १५ मा अवस्थित गडार खोलामा पनि पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । ४५ मिटर लामो यो पुल ६ करोड चार लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यालय मार्फत थप तीन वटा मोटरेवल पुल निर्माणकै क्रममा रहेको छ । देवचुलीको बौलाहा खोला , बौदीकाली डेढगाउँको बौदीर खोला र गैडाकोटको जुत्ति खोलामा मोटरेवल पुल निर्माण कार्य भइरहेको कार्यालयका इन्जिनियर आशिष् पोख्रेलले जानकारी दिनुभयो ।
इन्जिनियर पोख्रेलका अनुसार चालु आर्थिक वर्षमा कार्यालय काम गर्नुपर्ने योजनाको सङ्ख्या १७५ वटा छन् । जसमध्ये १८ वटा योजना सम्पन्न भएका छन् । तीन वटा पुल र १५ वटा बाटोको योजना सम्पन्न भएको पोख्रेलले जानकारी दिनुभयो । बाटोका योजनाहरूमा सबैजसो साना खाले योजनाहरू सम्पन्न भएका छन् । भने , कार्यालयले गण्डकी प्रदेश सरकारको प्रदेशकै गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्ड अन्तर्गत नवलपुरमा पर्ने डेढगाउँ –झ्यालबास सडक खण्डमा अहिले काम भइरहेको छ । यस सडक खण्डलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको पोख्रेलले बताउनुभयो । कूल ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा अहिले काम चलिरहेको छ । पहिलो खण्डमा १४ किलोमिटर मध्ये ७ किलोमिटर पक्की ढलाई सहितको कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने दोस्रो खण्डमा चार किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । यस्तै तेस्रो खण्डमा चार किलोमिटर क्षेत्रमा ग्याभिन जाली र टेवा पर्खाल लगाउने काम सम्पन्न भएको इन्जिनियर पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा कार्यालयलाई पुँजीगत खर्च तर्फ ७६ करोड६२ लाख रुपियाँ विनियोजन भएकोमा चैत मसान्तसम्म ३१ करोड ३५ लाख ( ४०.९१ प्रतिशत ) रकम खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस